तीन महिनादेखि शिक्षक नियमित नहुँदा पढाइ प्रभावित

  ०७६ कात्तिक २४ गते

बेसीशहर नगरपालिका–१० स्थित श्रीकण्ठ प्राथमिक विद्यालयमा शिक्षक नियमित नहुँदा यहाँ पढ्ने १० जना विद्यार्थीहरू पढ्नबाट वञ्चित भएका छन् ।

कक्ष १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन महिनादेखि शिक्षक विद्यालय उपस्थित नभएको बेसीशहर नगरपाकिा–१० का वडाध्यक्ष पुर्णबहादुर थापाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर तामाङले दुई महिना अघिदेखि वडाध्यक्षसँग गुनासो गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए ।

बेसीशहर नगरपालिकाको शिक्षा एकाइमा समेत पाँच पटकसम्म कुरा राखे पनि समस्याको समाधान नभएको वडााध्यक्ष थापाले बताए ।

विद्यालयमा अहिले एक जना शिक्षक करुणनिधि दनाइ रहेको र उनी पनि विद्यालयमा नियमित नहुँदा विद्यालयमा ताला लागेको विव्यस अध्यक्ष तामाङले बताए ।

करुणका अनुसार एक जना शिक्षकले मात्र विद्यालय सञ्चालन गर्न असजिलो भएकोले शिक्षकको माग गर्दा नगरपालिकाले दिन नचाहेको उनको गुनासो छ ।

कार्यलयको कामले विद्यालय नगएको तर अरुबेला विद्यालय जाने गरेको उनको भनाई छ । नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार अब हुन लागेको शिक्षक दरबन्दी मिलानमा सबै समस्याको समाधान हुन्छ ।

सेवा अवधि पुगेका, पढाउन अल्छी गर्ने र विद्यालय नियमित नहुने शिक्षकहरूलाई छानी छानी कारवाही गरिने प्रमुख अर्यालले बताए ।


दलबहादुर मजाकोटी