तीन महिनादेखि खाद्यान्न नहुँदा स्थानीय समस्यामा

  ०७६ फागुन २१ गते

व्यासको सुनसेरा डिपोमा तीन महिनादेखि नेपाल खाद्य संस्थानले वितरण गर्दै आएको खाद्यान्न नहुँदा यस क्षेत्रका स्थानीयहरू समस्यामा परेका छन् । ।

खाद्य संस्थानमार्फत विक्री हुँदै आएको चामल तीन महिनादेखि नपाएपछि स्थानीयले तुईनको सहारामा भारतीय बजारबाट खाद्यान्न ढुवानी गरी विहानवेलुहीको छाक टार्दै आएको बताएका छन् ।

खाद्यान्न अभावका कारण आफूहरूले जोखिम मोलेर भारतीय बजारबाट मोटो चामल प्रतिकेजी ४६ रुपियाँमा किन्नु परेको  स्थानीय मुकेश कुवरले दुखेसो पोख्नु भयो ।

व्यास गाउँपालिका – ४ का वडा अध्यक्ष सग्राम विष्टले व्यासमा खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएको निर्माण व्यवसायी नै सम्पर्कमा नभएकोले खाद्यान्नको समस्या तत्तकाल समाधान गर्न नसकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो –‘चामल नपाएर स्थानीय समस्यामा परेका छन् । ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन् ।  विगतदेखि खाद्यान्न स्टोर गर्दै आएको ठाउँमा चामल छैन् ।’

वडा अध्यक्ष विष्टका अनुसार खाद्यान्नको चामल आउने नआउनेबारे सोधपुछ भइरहेको छ । समयमै चामल आउँदैन भने माथिल्लो निकायमा जानकारी गराउँछौ । ठेकेदार महेन्द्र बडुको फोन स्वीच अफ गरिएको कारण चामल आए नआएको बारेमा जानकारी हुन सकेको छैन् ।

केहि स्थानीयहरूले भने ठेकेदारले खाद्य संस्थानकै चामल महंगो मूल्यमा विक्री गर्ने गरेको गुनासो गरेका छन् । खाद्य संस्थानको मोटो चामल  प्रतिकेजी ४३ रुपियाँमा विक्री गर्नु पर्ने हो, एक जना स्थानीयले भन्नुभयो, तर ठेकेदारले गाउँमा प्रतिकिलो मोटो चामल ४५ रुपियाँमा विक्री गर्ने गरेको छन् ।

यो क्षेत्रमा खाद्यान्न बालीको रूपमा मकै, गहुँ उत्पादन हुने गरेको भएपनि ६ महिनासम्म समेत खान नपुग्ने व्यास गाउँपालिका कृषि शाखा प्रमुख विशेश्वरप्रसाद बडुले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘पहाडि क्षेत्र भएको कारण राम्रो उत्पादन छैन् । यहाँका स्थानीयले वर्षभरीको खाद्यान्न जोहो गर्न भारतीय बजार र अन्य देशहरूमा कामको लागि जाने गरेका छन् ।’

यहाँका स्थानीयको सबैभन्दा नजिकको काम गर्ने क्षेत्र भनेको पारी भारततिर निर्माण भइरहेको कालापानी जाने सडकमा हो । बिहान बेलुकी तुइन तरेर भारतमा मजदुरी गर्छन् । त्यहि काम गरेको पैसाले चामल लिएर बेलुकी घर पफर्किन्छन् ।

व्यास गाउँपालिका– ३ का वडा अध्यक्ष उपेन्द्र धामीले स्थानीयले सुपथ मूल्यको चामल गाउँमा नपाउँदा ज्यानको बाजी लगाएर भारतीय बजारबाट तुइनमार्फत चामल ल्याउनुपरेको बताउनु भयो  ।

उहाँले भन्नु भयो – यहाँ अधिकांश स्थानीयहरू पेट पाल्नकै लागि भारतीय सडकहरूमा काम गर्छन् । त्यहाँ गरेको कामले खाद्यान्न ल्याउँदा ज्यान जोखिममा पर्ने गरेको छ । महिलाहरूले त्यहि तुईनमार्फत खाद्यान्न ल्याउन बाध्य छन् । पुरूष मजदुरीमा जान्छन् । महिलाले खाद्यान्न ओसार्छन् ।

व्यास गाउँपालिकामा चामल वितरणको जिम्मेवारी दिएका नरेन्द्र भट्टले केहीदिन भित्रै खाद्यान्न पुग्ने बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘ व्यासको लागि आएको चामल बाटोमा छ ।  भोलीपर्सि गाउँमा चामल पुग्ने जानकारी पाएको छु । व्यासको लागि झण्डै ५ सय क्वीन्टल चामल निर्यात गरिएको छ ।’

 


नरेन्द्रसिह कार्की