तीन महिनादेखि खाद्यान्न ढुवानी नहुँदा सेवाग्राही मर्कामा

  ०७६ फागुन २२ गते

ढुवानीको जिम्मा लिएको ठेकेदारले समयमै खाद्यान्न ढुवानी नगर्दा सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका सर्वसाधारण मर्कामा परेका छन् ।

खत्याड गाँउपालिका–११ रातापानी र सोरु गाँउपालिका–९ कालैमा रहेको नेपाल खाद्य संस्थानको बिक्री डिपोमा खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएको ठेकदारले तीन महिनादेखि खाद्यान्न ढुवानी नगरेकाले ती क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन ।

खत्याड गाँउपालिका–११ का प्रकाश कार्कीले दिएको जानकारी अनुसार खाद्य संस्थानसँग भएको सम्झौता अनुसार ठेकदार पक्षले रातापानी बिक्री केन्द्रमा फागुन २२ गतेसम्म ढुवानी गरेको छैन । बिक्री केन्द्रमा खाद्यान्न ढुवान नगर्दा खत्याड गाँउपालिका वडा नम्बर ८, ९, १० र ११ का व्यक्तिले व्यापारीसँग प्रति बोरा दुई सय रुपियाँ महङ्गोको चामल किन्न बाध्य भएका छन् ।

मङ्सिरदेखि नेपाल खाद्य संस्थानको बिक्री केन्द्रमा खाद्यान्न छैन । खाद्य संस्थान मुगु शाखाले ठेकदारले ढुवानी नगरेका कारण खाद्यान्न नपुगेको बताएको छ । गाँउ नजिकको बिक्री डिपोमा खाद्यान्न नभएपछि सर्वसाधरण खाद्यान्नको जाहो गर्न गाउँबाट एक घण्टा टाढाको तारापानी बजारबाट खाद्यान्न किनेर खान बाध्य छन् ।

खाद्य संस्थानको बिक्री डिपोमा प्रति ३० केजी चामलको १ हजार ५ सय रुपियाँ पर्छ भने बजारबाट किन्दा ३० केजी चामलको बोराको १ हजार ७ सय रुपियाँ तिर्नुपर्ने सोरु गाँउपालिका–७ का वडा अध्यक्ष परुनाथ योगीले जानकारी दिनु भयो ।

खत्याड गाँउपालिका–११ रातापानी र सोरु गाँउपालिका–९ कालैमा रहेको नोपाल खाद्य संस्थानको बिक्री डिपो केन्द्रमा खाद्यान्न ढुवानी गर्न ०७६ मङ्सिरमा सिदार्थ ढुवानी सेवाले ढुवानीको सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकदार पक्षले मङ्सिरको अन्तिम हप्ताबाटै खाद्यान्न ढुवानी गर्नुपर्ने भएपनि हिमपातले गर्दा सडक यातायात अवरुद्ध भएकाले ठेकदारले ढुवानी नगरेको हुन सक्छ । अब सडक यातायात सुचारु भएकाले खाद्यान्न ढुवानी गर्न ताकेता गरिने नेपाल खाद्य संस्थान मुगुका प्रमुख कर्ण रावलले जानकारी दिनु भयो ।


जीवन सेजुवाल