तिहारमा समेत सहुलियतको चामल नपाएको स्थानीयको गुनासो

  ०७७ कात्तिक २८ गते

नेपाल खाद्य संस्थानबाट ढुवानीको जिम्मा लिएको ठेकेदारले खाद्यान्न ढुवानी नगर्दा सोरु गाउँपालिकाको सोरु डिपो, सोही गाँउपालिका–९ कालै विक्री केन्द्र र मुगुम कार्मारोङ गाँउपालिकाको पुलु डिपोबाट सर्वसाधरणले तिहारमा समेत सहुलियतको चामल नपाएको गुनासो गरेका छन् ।

सोरु गाउँपालिकाको सोरुकोट खाद्यान्न डिपो तथा सोही गाँउपालिका–९को कालै विक्री केन्द्रका साथै मुगुम कार्मारोङ गाउँपालिकाको पुलु बगरमा रहेको पुलु डिपोमा खाद्य संस्थान क्षेत्रीय कार्यालय सुर्खेतसँग ढुवानीको जिम्मा लिएको शर्मा ढुवानी सेवाले खाद्यन्न ढुवानी नगर्दा दशैँ र तिहारमा समेत सहुलियको खाद्यान्न नपाएको ति क्षेत्रका बासिन्दाको गुनासो छ ।

सोरुकोट खाद्य डिपो कालै विक्री केन्द्र र पुलु डिपोको खाद्यान्न ढुवानीका लागि शर्मा ढुवानी सेवाले ढुवानी गर्नका लागि आसोज १७ गते सम्झौता गरेको थियो ।

ढुवानीको जिम्मा लिएको शर्मा ढुवानी सेवाले कालै विक्री केन्द्र र सोरु डिपोका लागि ढुवानी गर्ने जापनिज चामल भक्तपुर लैजाँदै गर्दा प्रहरीले सुर्खेतमा भेटाएको थियो ।

केही खाद्यान्न मुगु सदरमुकाम गमगढीसम्म ढुवानी गरेको भएपनि सम्बन्धित केन्द्रसम्म नुपर्या‍उँदा दशैँ तिहार जस्तो चाडमा सर्वसाधरणले खाद्यान्न नपाएको सोरु गाँउपालिका–९ का वडा अध्यक्ष परुनाथ योगीले बताउनु भयो ।

‘आफ्नो उत्पादनले ६ महिनासम्म खान पुग्ने र बाँकी ६ महिना खाद्य संस्थानकै भरमा बाँच्नु पर्ने हुन्छ । ठेकेदारले कहिल्यै समयमै ढुवानी गर्दैनन् । बिहान बेलुका छाक टार्नलाई ज्याल मजदुरी गरेर कमाएको पैसाले गाउँ नजिक रहेका पसलबाट डिपोमा सहुलियतमा पाइने खाद्यान्नभन्दा २ सय रुपियाँदेखि ३ सय रुपियाँसम्म बढी मुल्य हालेर खाद्यान्न जोहो गर्नु परेको छ।'-कालै गाउँका सिंह बिकले भन्नु भयो ।

खाद्य डिपो तथा विक्री केन्द्रमा सहुलियतमा प्रतिबोरा ३० केजीको १ हजार ५ सय रुपियाँमा पाइने खाद्यfन्न गाउँका व्यापारीहरूबाट प्रति ३० केजीको बोराको १ हजार ८ सय रुपियाँदेखि २ हजार रुपियाँसम्ममा किन्नु परेको स्थानीयहरूले गुनासो गरेका छन् ।

कालै विक्री केन्द्रका लागि ३ हजार, सोरु डिपोका लागि १ हजार, पुलु डिपोमा सुर्खेतबाट १ हजार र खाद्य संस्थान गमगढी शाखाबाट ७ सय क्विन्टल स्वीकृत भई शर्मा ढुवानी सेवाले ढुवानी गर्ने सम्झौता गरेको भएको भएपनी कालै विक्री केन्द्रका लागि शर्मा ढुवानी सेवाले १ हजार १ सय क्विन्टल खाद्यान्न सुर्खेतबाट उठाएको भएपनि कालैमा खाद्यान्न नपुगेको र सोरुकोट तथा पुलुमा समेत ढुवानी नभएको खाद्य संस्थान मुगुका निमित्त कार्यालय प्रमुख पुस्कर भामले बताउनु भयो ।

ढुवानीको जिम्मा लिएको शर्मा ढुवानी सेवाका प्रोपाइटर बासुदेव शर्माका अनुसार जिम्मा लिएका दुई डिपो र एक विक्री केन्द्रमध्ये कालै विक्री केन्द्रको केही खाद्यान्न पुगिसकेको छ ।

खाद्य संस्थानले उक्त विक्री केन्द्रमा कर्मचारी व्यवस्था नगर्दा ढुवानीसहित विक्रीको जिम्मा आफैँले गर्नु परेको उहाँको गुनासो छ ।

तत्काल कर्मचारी व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय तथा खाद्य संस्थानमा लिखित पत्रद्वारा जानकारी गराइएको भएपनि कर्मचारी व्यवस्था नगर्दा वितरणमा समस्या भएको शर्माले बताउनु भयो ।

सोरु डिपोका लागि सोरु गाँउपालिकाले अघिल्लो वर्षको २२ लाख रुपियाँ हालसम्म पनि भुक्तानी नगरेका कारण सोरु डिपोमा ढुवानी गर्नमा ढिलाइ भएको शर्मा ढुवानी सेवाका प्रोपाइटर बासुदेव शर्माले बताउनु भयो ।


जीवन सेजुवाल