ताम्ती स्वास्थ्य चौकीमा औषधि अभाव

  ०७६ असोज ८ गते

तातोपानी गाउँपालिका–७ र ८ वडा पर्ने ताम्ती स्वास्थ्य चौकीमा एक सातादेखि औषधिको अभाव हुँदा स्थानीयलाई समस्या भएको छ ।

औषधि अभाव भएपछि रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य समस्या लिएर स्वास्थ चौकी पुगेका बिरामी रित्तै फर्किनु परेको स्थानीयले गुनासो गरेका छन् ।

जाजरकोट जिल्लासँग सिमाना जोडिएको तत्कालिन ताम्ती गाविसमा पछिल्लो समय भाइरल फैलिने जोखिम रहेको भएपनि स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधिको आपुर्ति नहुने गरेकाले समस्या आउने गरेको स्थानीय नरेन्द्र शाहीले बताए ।

ताम्ती स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र पाण्डेका अनुसार स्वास्थ्य संस्थामा अहिले बढी चाहिने सिटामोल, ब्रुफिन तथा गर्भवती महिलाका लागि आवश्यक पर्ने आइरन र क्याल्सियम जस्ता औषधिको अभाव रहेको छ ।

औषधिको अभाव भएपछि गर्भवती महिलाले ति औषधि नै सेवन नगरी बस्नुपर्ने बाध्यता रहेको पाण्डे बताउँछन् ।

स्वास्थ्य चौकीका प्रमुख पाण्डेले अभाव भएका औषधि पठाइदिन आग्रह गर्दै गाउँपालिकाको स्वास्थ्य शाखामा पत्राचार गरी माग गरिएको र अब दुई-चार दिनभित्र स्वास्थ्य संस्थामा औषधि आइपुग्ने जबाफ स्वास्थ्य शाखाबाट आएको बताए ।

दुई वडामा सेवा दिने स्वास्थ चौकीमा दैनिक २०-२५ जना बिरामी सेवाका लागि आउने गरेको प्रमुख पाण्डेको भनाई छ ।

औषधि अभावका बारेमा प्रश्न गर्दा तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद उपाध्यायले स्वास्थ्य चौकीमा औषधि अभाव भएको जानकारी प्राप्त भएपछि औषधि पठाउने तयारी भइरहेको जानकारी दिए ।


मानदत्त रावल