ताक्लाकोटमा रहेका नेपाली कामदारहरूले उद्धार गर्न आग्रह

  ०७६ चैत ५ गते

हुम्ला घरभई कामको सिलसिलामा चीनको ताक्लाकोटमा रहँदै आएका व्यापारी तथा कामदारहरूले ताक्लाकोटबाट उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

चीनबाट सुरुवात भई विश्व्यापी संक्रमण तथा महामारीको रुपमा देखापरेको (कोभिड १९) कोरोना भाइसरको सम्भावित रोग सर्न सक्ने जोखिमको डरले ताक्लाकोटमा रहँदै आएका हुम्लाका कामदार तथा व्यावसायीहरूले उद्धारका लागि पहल गर्न आग्रह गरेका हुन ।

व्यापारको सिलसिलामा ०७६ पुसमा ताक्लाकोट गएका नाम्खा गाउँपालिका–३ खगालगाउँका ठोकेल लामाले व्यापार सकिएको र काम नभएकाले नेपाल आउने वातावरण तयार गरीदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
हालसम्म ताक्लाकोटमा रहेका नेपालीहरू कसैलाई केही नभएको भएपनि डरत्रासका बीच बस्नु पर्दा निक्कै असजिलो भएकाले आफूहरू नेपाल आउन चाहेकोले नेपाल फिर्ता हुने व्यवस्थाका लागि आग्रह गरेको उहाँको भनाई छ ।

उनीहरूले हुम्ला जिल्लाबाट गाउँपालिका, प्रदेश र संघीय संसदमा गएका मन्त्री तथा सांसद र गाउँपालिकाका अध्यक्षहरूलाई आग्रह गर्दा पनि कुनै सुनुवाई हुन नसकेको आरोप लगाउनु भएको छ ।

उहाँका अनुसार ताक्लाकोटको स्थानीय सरकारले आफ्ना नागरिक भन्दा पनि नेपालीलाई उच्च महत्व, सुरक्षा र निगरानीमा राख्दै आएको छ । तर पनि उकुसमुकुसको अवस्थामा बस्नु परिरहेको ताक्लाकोटमा रहेका नेपालीहरूले गुनासो गर्नु भएको छ ।

ताक्लाकोटमा रहेका २३ जना नेपालीले नेपालमा उद्धारका लागि पहल गरीदिन जिल्ला प्रशासन कार्यालय हुम्लालाई आग्रह गरेता पनि यसको सुनुवाई नभएको कैलाश व्यापार सङ्घमार्फत लिखित निवेदन समेत दिएको उपाध्यक्ष लामु लामाले बताउनु भयो ।

ताक्लाकोटबाट नेपालीहरूलाई अन्यत्र कतै पनि जान दिइएको छैन । हाल ताक्लाकोटमा १ सय ४८ जना नेपालीहरू रहेकोमा एक जना दार्चुला, एक जना बझाङका र बाँकी १ सय ४६ जना सबै हुम्लाबासी रहेका छन् ।
हालसम्म ताक्लाकोटमा कोरोना भाइरसबाट कोही व्यक्ति पीडित नभएकोले आफू उतै बस्ने कैलाश व्यापार सङ्घका उपाध्यक्ष लामु लामाले बताउनु भयो । नेपाली डराउनु स्वभाविकै हो, तर यहाँको सरकारले राम्रो व्यवस्था गरेकाले आत्तिनु पर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले नेपाल फिर्ता हुनका लागि कैलाश व्यापार सङ्घमार्फत चिठ्ठी प्राप्त भई सकेको र केन्द्रमा पनि जानकारी गराई सकेको बताउनु भयो ।

 


नन्द सिंह