तलब नपाएको भन्दै शिक्षकले विद्यालय छाडेपछि पठनपाठन प्रभावित

  ०७६ फागुन २७ गते

बनगाड कुपिण्डे नपा–१ बेलखोलास्थित भैरवी निम्न माध्यमिक विद्यालय वेलखोलामा कार्यरत पाँच जना शिक्षकले १४ महिनादेखि तलब नपाएको भन्दै विद्यालय छोडेपछि पठनपाठन प्रभावित भएको छ ।

उनीहरू सबै निजी श्रोतका शिक्षक हुन । विद्यालयमा आर्थिक श्रोत नहुँदा ती शिक्षकले १४ महिनादेखि तलब पाउनबाट बञ्चित भएको विद्यालयका प्रद्यानाध्यापक खिमलाल बिकले बताउनुभयो ।

विद्यालयमा शिक्षकहरूलाई समयमै तलब खुवाउन नसक्दा शिक्षकहरू नियमित नआउने र कतिपय विद्यालयका शिक्षकले विद्यालयमा पढाउनसम्म छाडेपछि पठनपाठन प्रभावित भएको उहाँले बताउनुभयो । विद्यालयमा चरम आर्थिक अभावपछि आठ कक्षासम्म संचालित विद्यालयलाई पाँच कक्षामा झार्ने तयारी भइरहेको छ ।

तलब नपाएपछि शिक्षक विद्यालय आउन ०७६ माघ पहिलो हप्तादेखि छोडेका छन् । शिक्षकहरू अनियमित भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । १ सय ७० विद्यार्थी रहेको विद्यालयमा निमावि तहमा मात्रै ८५ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले १४ महिनाको तलब बापत शिक्षकलाई दिनुपर्ने रकम करिब आठ लाख रुपियाँ छ । गएको वर्ष पनि नगरपालिकाबाट कुनै रकम नपाएपछि शिक्षकहरूलाई तलब दिन नसकिएको प्रद्याध्यापक विकले गुनासो गर्नु भयो ।

नगरपालिका अथवा शिक्षकको लागि कुनै निकायबाट सहयोग भयो भने कक्षा आठसम्म संचालन गर्न सक्छौँ उहाँले भन्नुभयो, यदि कतैबाट पनि सहयोग प्राप्त भएन भने कक्षा पाँचमा झार्नुको विकल्प छैन । विद्यालयमा एक स्थायी र एक राहत गरी दुई ओटा मात्रै दरवन्दी छन् ।

आठसम्म संचालित ६ ओटा विद्यालय पाँच कक्षामा झार्दै
यस्तो समस्या वनगाड कुपिण्डे नगरपालिकाका ६ ओटा विद्यालयमा छ । शुन्य दरबन्दीमा विद्यालय संचालन भएको र आर्थिक अभावका कारण सामुदायिक विद्यालयमा शिक्षक अभाव भएपछि पठनपाठनमा समस्या हुँदा कक्षा घटाउने तयारी गरेका छन् । कक्षा आठ सञ्चालन गरेका विद्यालयहरू आउँदो शैक्षिक सत्रमा निमावि तह बन्द गर्ने र प्रावि तहमा लैजाने योजनामा छन् ।

वनगाड कुपिण्डे नपा–६ मा रहेको राधा निमावि यसै शैक्षिक सत्रमा प्राविमा झरीसकेको छ भने भैरवी निमावि बेलखोला, भेरी निमावि गरा, सरस्वती निमावि लाखर लगायतका कक्षा आठ चलेका ६ ओटा विद्यालयले आउँदो शैक्षिक सत्रमा विद्यालय प्राविमा झार्ने तयारीमा छन् । शिक्षक अभावका कारण विद्यालय बन्द हुने अवस्था आएपछि बालबालिका घण्टौँ हिडेर विद्यालय जानुपर्ने बाध्यता हुने भन्दै अभिभावक चिन्तित बनेका छन् ।

वनगाड कुपिण्डे नपामा दुई वर्षदेखि नगर शिक्षा समिति छैन् । नगर शिक्षा समिति बन्न नसकेपछि अधिकांश काम प्रभावित बनेका छन् । नगरपालिकाले गएको आर्थिक वर्षमा पनि नगर शिक्षा विकासको लागि छुट्याएको बजेट आवश्यक कानुनको अभावमा फ्रिज भएको थियो । यसवर्ष पनि हालसम्म बजेट विनियोजन हुन नसकेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले बताउनुभयो ।

उहाँले नगर शिक्षा समिति नहुँदा आवश्यक काम गर्न नसकिएको स्वीकार गर्नुभयो । हामीले आगामी शैक्षिक सत्रदेखि यी समस्या समाधानका लागि लागिरहेका छौँ, उहाँले भन्नुभयो, ‘अब चैतमा शिक्षा समिति बनाएर वैशाखदेखि शुन्य दरवन्दी भएका विद्यालयमा दरवन्दी दिन्छौँ ।’ उहाँले निमावि तहमा मात्रै १९ ओटा दरवन्दी दिनेगरी बजेट विनियोजन गरेको बताउनुभयो ।

 


मिना बुढाथोकी