तरूण दलका जिल्ला सभापतिले कुटपिट गरेको पीडित शिक्षकको आरोप

  ०७४ पुस १० गते

नौमूले गाउँपालिका-६ दफेनाउलीस्थित शिवशक्ति माविका शिक्षक नमराज नेपालीलाई पुस ९ गते सोही गाउँपालिका-६ सल्लेरी निवासी नेपाल तरूण दलका जिल्ला सभापति लालबहादुर चन्दले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

बिहान सवा ११ बजे विद्यालयको चौरमा विद्यार्थीलाई पढाइरहेको बेला एक्कासी लात्तिले तिघ्रामा हानेको र काठको कुर्सीले ढाडमा प्रहार गरी चोट लागेपछि पनि आक्रमण गर्न नछोडेपछि आफू भागेर ज्यान जोगाएको शिक्षक नेपालीले बताए ।

'नमराज सरले पढाइरहनु भएको थियो । विद्यालयको चौरमा लालबहादुरले बोलाएर लात्तिले कुटेको हामीले देख्यौं ।'-प्रधानाध्यापक मानबहादुर रावलले बताए ।

'एक कुर्सीले हानेपछि हामी छुट्याउन गयौँ । त्यसपछि नमराज सर भागेर जङ्गलतिर जानुभयो ।'- प्रधानाध्यापक रावलले भने ।

'अरू कक्षामा पनि पढाई भइरहेकै थियो । म कक्षा तीनको नेपाली विषय विद्यालयको चौरमै पढाइरहेको बेला 'उसले बोलाएपछि किन हो ?' भनेर नजिक गएँ । ताकेरै गुप्ताङ्गमा लात्ति सोझयाएको चाल पाएर मोडिएँ । अनि तिघ्रामा लाग्यो । लात्तिले ३/४ पटक प्रहार गरेपछि पनि काठको कुर्सी बोकेको देखेर भाग्दै गर्दा ढाडमा चोट लागेको हो ।'-पीडित शिक्षक नमराज नेपालीले बताए ।

नेपाल तरूण दलका जिल्ला सभापति चन्दले 'सामान्य धकलपकल भएको हो । ठूलो विषय नबनाई दिनूहोला' भन्दै आग्रह गरे । चन्दले अघिल्लो वर्ष ०७३ कात्तिक १३ गते कोठामा मस्त निन्द्रामा सुतेका शिक्षक नमराजको मुखमा वियरको बोतल कोच्याएको फोटो खिची फेकबुकमा 'यस्ता त शिक्षक के शिक्षा दिन्छन् ?' भनी पोष्ट गरेको आरोप छ ।

सामाजिक सञ्जाल फेसबुकमा बेइज्जती र अपमान गरेको भन्ने नमराजको निवेदनमा जिल्ला प्रहरी कार्यालय दैलेखले कात्तिक १८ गते अब आइन्दा यस्ता अभद्र व्यवहार नगर्ने शर्तमा मिलापत्र गराएको थियो ।

नेपाली काङ्ग्रेसको भातृ सङ्गठनको जिल्ला सभापति जस्तो पदमा रहेका चन्दले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका निर्वाचनमा पार्टीको पराजयपछि फरक आस्थाका धेरैसँग यस्तो दुर्व्यवहार गरेका तीन ओटा उजुरी प्रहरीमा पुगेका छन् । उनलाई खोज्न घरमा गएको प्रहरीले नभेटाएर फर्किन नपाउँदै यो घटनाको प्रहरीलाई सूचना पुगेको थियो ।

अघिल्लो वर्षपनि सामाजिक सञ्जालमा अपमान गरेको र यो पटक जातीय हिसाबले समेत विभेद जनिने शब्द समेत बोलेको कारण कडा कारबाहीको माग गर्दै पीडित नमराज नेपालीले पुस ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका छन् ।

कक्षामा पढाइरहेको शिक्षक माथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै शिक्षकका पेशागत सङ्गठनहरूले पुस ९ गते प्रेस विज्ञप्ति जारी गरेका छन् ।

नेपाल शिक्षक सङ्गठनका अध्यक्ष नरबहादुर थापा तथा सचिव खगेन्द्र श्रेष्ठ र एकीकृत अखिल शिक्षक सङ्ठनका जिल्ला अध्यक्ष बिसाखर तथा सचिव गणेश कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले अबिलम्व गिरफ्तार गरी कारबाही प्रक्रिया सुरू नगरे आन्दोलन गर्ने उल्लेख छ ।


अमर सुनार