ढुवानी समस्याले आयोडिन नुन खान नपाए पछि स्थानीयवासीको गुनासो

  ०७३ कात्तिक २१ गते

सदरमुकाम सिमकोटदेखि ५२ कोष टाढाको लिमी गाविसका वासिन्दाले हालसम्म आयोडिन युक्त नुन खान पाएका छैनन् ।

चार दिन पैदल मार्गबाट आयोनुन ढुवानी गर्न समस्या भएपछि यहाँका स्थानीयले आयोनुन प्रयोग गर्न नपाएको बताएका छन् । हुम्ला जिल्लामा ढुवानी अनुदानको आयोडिन युक्त नुन विगत १८ वर्षदेखि आउने गरे पनि लिमी गाविसका २ सय १७ घरधुरीले खान नपाएको लिमी गाविस-५ का नुर्वु तामाङले बताए ।

उनका अनुसार अहिलेसम्म लिमीका बासिन्दाले ढिक्के नुन प्रयोग गर्दै आएका छन् । जिल्लामा नुन लिन जाने हो भने आवत जावत गरेर १० दिन लाग्ने तामाङ्ले बताए । सरकारले आयोडिन युक्त नुन प्रयोग गर्न निकै प्रचारप्रसार गरे पनि ढुवानी अनुदानको नुन सदरमुकाम सिमकोटसम्म मात्र आउने गर्छ ।

आयोडिन युक्त नुनको प्रयोग गर्न नपाउँदा गाँउका केही मानिसहरूमा गलगाँडको समस्या आएको लिमी-५ की छाम्ज्योत लामाले बताइन् । सिमकोटबाट लिमीसम्म पैदल नुन ढुवानी गर्ने व्यवस्था स्थानीयले आफै गर्नु पर्ने भएपछि लिमी गाविसका कोही मानिस पनि नुन लिन कार्यालयमा नआएको साल्ट ट्रेडिङ् हुम्लाका प्रमुख राजबहादुर लामाले बताए ।

ढुवानी अनुदान दिई सकेपछि राज्यले गाविससम्म ढुवानीको व्यवस्था गर्नु पर्ने भनाइ गाविस सचिव धर्मराज रोकायाको छ । राज्यले अहिलेसम्म गाउँमा पुर्‍याउनका लागि भाडाको व्यवस्था नगरेको र यो पछि गरे पनि जिल्लाको सबैभन्दा टाढा रहेको लिमी गाविसलाई व्यवस्था गर्न नसकिने प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमीरेले बताए ।

अहिले सदरमुकाम सिमकोटको लागि वार्षिक ३ हजार ८ सय क्वीन्टल र सर्केगाड तथा श्रीनगर डिपोका लागि ६/ ६ सय क्वीन्टल नुन ढुवानी अनुदानमा आउने गरेको साल्ट ट्रेडिङ् हुम्लाका प्रमुख  लामाले बताएका छन ।


नन्द सिंह