ढिलो विद्यालय आएको आरोपमा विद्यार्थीमाथि कुटपिट, आरोपित शिक्षिका विरूद्ध प्रहरीमा उजुरी

  ०७६ जेठ २० गते

रुन्टीगढी गाउँपालिका-८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका २६ वर्षीय लक्ष्मी पुनले  ढिलो विद्यालय आएको आरोपमा १४ जना विद्यार्थीलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । पीडितपक्षले आरोपित लक्ष्मी पुन विरूद्ध जेठ १९ गते इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी दिएका छन् ।

शिक्षिका पुनले जेठ १२ गते विद्यालयमा ढिलो आएको आरोपमा लाठीले कुटपिट गर्दा एकदेखि आठ कक्षासम्मका १४ जना विद्यार्थी घाइते भएका थिए । उनीहरूमध्ये पाँच जनाको दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा उपचार भइरहेको छ । कुटपिटबाट भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरूको जोर्नी, नाडी, कुहिनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा. घनश्याम शर्माले बताए । 'घाइतेहरूको अनुहार पनि सुन्निएको छ । जोर्नीमा समस्या देखिएकाले सुधार आउन केही दिन लाग्छ' डा. शर्माले भने ।

त्यसैगरी प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरूणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती सामान्य घाइते भएका छन् । कक्षा ३ मा अध्ययनरत नरबहादुर घर्तीको कानको जाली फुटेका कारण श्रवण शक्तिमा कमी आएको विद्यार्थीहरूले बताएका छन् ।

प्रार्थनाका लागि लाइन लाग्दै गरेका बेला शिक्षिक पुनले अन्धाधुन्ध लाठीले कुटपिट गर्न सुरू गरेको भीमकुमारी बाँठाले बताइन् । 'हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामी माथि अन्धाधुन्ध लाठी प्रहार गर्नुभयो । विद्यार्थी रोइकराइ गर्न थालेपछि हेर्न नसकेर अरू अन्य शिक्षक शिक्षिकाहरू कार्यालयतर्फ दौडिनु भयो ।' बाँठाले भनिन् ।

घटना जेठ १२ गतेको भएता पनि वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण ढिलोगरी घटना बाहिर आएको हो । विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि उपचारका लागि पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको इप्रका इन्स्पेक्टर मेघनाथ चापागाइँले बताए ।


माधवकुमार ओली