ढल्केवरमा बालक हत्याकाण्डः अझै पत्ता लागेन अपराधि !

  ०७६ जेठ ५ गते

मानव अधिकार क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूले धनुषाको ढल्केवरमा वैशाख २५ गते भएको अढाई वर्षीय बालक आर्यन साहको अपहरण पश्चात हत्या गरेको घटनाको स्थलगत अनुगमन तथा घटनाको अनुसन्धान प्रकृया बारे जानकारी लिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, सामुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मासहितको टोलीले जेठ ४ गते घटना स्थलगतको अनुगमन तथा घटनाको अनुसन्धान प्रकृयाबारे इलाका प्रहरी कार्यालय ढल्केवरबाट जानकारी लिएको छ ।

सो क्रममा टोलीले पीडित परिवारजनसँग समेत भेटघाट गरेका छन् । अधिकारकर्मीहरूको टोलीले पीडितलाई न्याय दिलाउन सहयोग गर्ने जनाए ।

घटना घटेको ११ दिन बितेपनि प्रहरीले दोषी गिरफ्तार गर्न नसकेको गुनासो गरेपछि अधिकारकर्मीको टोलीले अनुगमन गरेका हुन् । साँझ न पर्दै घर भित्रको कोठामा समेत एक्लै जान डराउँछन् बालबालिकाहरू ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका बालबालिकाहरू अहिले केहि दिन देखि साँझ न पर्दै एक्लै घर भित्रको कोठामा जान पनि डराउने गरेका छन् ।

ढल्केवरका शिक्षक बद्रिविक्रम बानियाँले भने–‘वैशाख २४ गते एक अढाई वर्षीय बालक आर्यन साहको अपहरणपछि हत्या भएको घटनाले सिङ्गो नगरवासी नै भयभित छन् ।’

‘हामीहरू अबेर रातिसम्म ढल्केवर चोकमा बिताउने गरेकोमा अहिले उक्त घटना पश्चात घाम नअस्ताउँदै घर फर्किन्छौं ।’–बानियाँले भने ।

ढल्केवरका स्थानीय सञ्चारकर्मी विजय साहका अनुसार अहिले अभिभावकहरू विद्यालय सकेर आफ्ना नानीबाबुहरू घर पुगे पुगेनन् भनेर सोधी खोजी गर्न थालेका छन् ।

उनले भने–‘विद्यालय विदा हुने बेला नानीहरूलाई लिन स्वयम् अभिभावकहरू विद्यालय पुग्ने गरेको देखिन्छ । जुन यसअघि निकै न्यून मात्रमा त्यो पनि ससाना नानीहरूलाई लिन अभिभावक पुग्ने गर्दथे । तर, अहिले अधिकांशको अभिभावक विद्यालय बच्चा लिन पुग्छन् ।’

यस घटनाले प्रदेश २ को धनुषा सहितका जिल्लाहरूमा बाल बालिकाहरूमाथि भइरहेको हिंसाले गर्दा समाजमा बढ्दै गरेको असुरक्षाले स्थानीयहरू भयभित छन् ।

घटना घटेको आज १०–११ दिन बितिसक्दा पनि अपराधि पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
‘समाजमा सुरक्षित भइन्छ भन्ने आत्मविश्वास गुमेको छ ।’–मृतक आर्यनका काका सञ्जय साहले भने– ‘समाजमा हिजोआज के भइरहेको छ ? बुझ्न सकिएन ।’

प्रदेश २ का कानुनमन्त्री यादवद्वारा पीडित परिवारसँग भेटघाट

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जेठ ४ गते मृतक बालकका परिवारजनसँग भेट गरेका छन् ।

मन्त्री यादवले पीडित परिवारलाई घटनामा संलग्न जो सुकै भएपनि, जहाँ लुकेर बसेको भएपनि कानुनी कारवाही हुने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

कानुन मन्त्री यादवले भने–‘सानो बालकको हत्या निकै दुःखद् घटना हो । घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । सबै सम्भावित कोणबाट अनुसन्धान थालिएको छ । दोषीलाई जहाँबाट भएपनि खोजेर हदैसम्मको कारवाही हुन्छ ।’

उनले पीडित परिवारलाई न्याय दिलाउन प्रदेश सरकार र आफू व्यक्तिगत तर्फबाट सबैको किसिमको सहयोग गर्न तयार रहेको बताए ।


अजयकुमार साह