ड्युटीमा रहेका असईको हत्या, प्रहरी जवान सम्पर्कविहीन !

  ०७७ कात्तिक ३ गते

पुनर्वास नगरपालिका–९ घर भई धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित प्रहरी चौकीमा कार्यरत असई गोविन्द बिकको धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरेको अवस्थामा मोहना नदीमा कात्तिक २ गते शव फेला परेको छ ।

धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित प्रहरी चैकीका इञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद कात्तिक १ गते राति सिमापारी भारतबाट आउने अवैध सामान नियन्त्रणका लागि ड्युटीमा गएका भएपनि बिकको शव कात्तिक २ गते नदीमा भेटिएकोथियो ।

बिकसँगै गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था कात्तिक ३ गते साँझसम्म पनि पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ११ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको भएपनि सो घटना किन र कसरी भयो खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सीआइबी टोलीले घटनाको अनुसन्धान गरिहेकोले घटनामा संलग्न व्यक्ति उम्कन नपाउने डिएसपी विष्टले बताउनु भयो ।

बिकको शव कात्तिक ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा पोष्टमार्टमपछि आफन्तले बुझेका छन् ।


मैनामोती चौधरी