डोल्पाका स्वास्थ संस्थाहरूमा औषधिको अभाव

  ०७६ कात्तिक २५ गते

हिमाली जिल्ला डोल्पामा जाडोयाम लागेसँगै स्वास्थ्यचौकीहरूमा औषधिको अभाव भएको छ । जाडो बढेसँगै स्थानीय तहहरूको ध्यान स्वास्थ्यचौकी व्यवस्थापनमा नपुग्दा औषधिको अभाव भएको स्थानीयको आरो रहेको छ ।

औषधि नहुँदा हाल सामान्य रोगको उपचार गराउन स्वास्थ्यचौकी पुगेका बिरामी औषधि नलिई रित्तै घर फर्किने गरेको स्थानीय बताउँछन् ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने फुल्चिङ्ग स्वास्थ्यचौकी, पहाडा स्वास्थ्यचौकी, लिकु स्वास्थ्यचौकी, सुउँ स्वास्थ्यचौकी र नगरकेन्द्र नजिकै रहेको त्रिपुराकोट स्वास्थ्यचौकीमा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको पारासिटामोल समेत असोजको दोस्रो सातायता नभएको त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य संयोजक, कृष्ण कार्कीले बताए ।

कार्कीले भने–‘औषधिको अभाव भएर बिरामीलाई उपचार गराउन समस्या परिरहेकोले आवश्यक औषधि खरिद गरिदिनको लागि त्रिपुरासुन्दरी नगरपालिकालाई अनुरोध गरी पठाउँदा पनि कुनै सुनुवाइ भएको छैन ।’

डोल्पामा प्रत्येक वर्ष जाडोबढेसँगै स्वास्थ्य संस्थाहरूमा रूघाखोकी र ज्वरोका बिरामीको चाप बढ्ने गरेपनि आवश्यक औषधि नहुँदा सर्वसाधारण निजी मेडिकलहरूबाट महङ्गो मुल्यमा औषधि किनेर सेवन गर्न बाध्य हुने गरेका छन् ।

त्रिपुराकोट स्वास्थ्यचौकीका इञ्चार्ज तुलबहादुर श्रेष्ठले स्वास्थचौकीमा सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको टेट्रा साइक्लिन, जेभी पाउडर, एमसी पाउडर, स्प्रीट, टिन्चर, भिटामिन बि कम्पलेक्स, ल्वाङको तेल, आइक्रोफिन, क्यालामाइन लोसन, म्याग्नेसियम सल्फेट, अक्सिटोसीन, बेन्जाइल बेन्जोइन, पारासिटामोल, जिन्क र ओरामाइन भ्यालेटलगायत तीस प्रकारका औषधिहरूको अभाव रहेको बताए ।

निःशुल्क पाइनुपर्ने औषधि स्वास्थचौकीमा नहुँदा सर्वसाधारणहरू निजी मेडिकलबाट महङ्गो मुल्यमा किन्न बाध्य भएको श्रेष्ठले बताए ।

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिकामा पर्ने फोक्सुण्डो स्वास्थ्यचौकी, धो स्वास्थ्यचौकी र छार्का स्वास्थ्यचौकीमा पनि औषधि अभावका साथै जाडो बढेसँगै चिकित्सकहरू समेत सदरमुकामतर्फ फर्केकाले स्वास्थ्यचौकीहरूमा औषधिसँगै स्वास्थ्यकर्मी नहुँदा थप समस्या भएको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय ग्याल्पो भोटेले बताए ।

तल्लो डोल्पामा पर्ने कालिका स्वास्थ्यचौकी, काइगाउँ स्वास्थ्यचौकी, माझफाल स्वास्थ्यचौकी र जुफाल स्वास्थ्यचौकीमा पनि औषधिको अभाव रहेको स्थानीयले बताएका छन् ।

ठुलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाही र त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले नगरपालिकामा रहेका स्वास्थ्यचौकीहरूमा औषधि अभाव भएको खबर प्राप्त भएको र खरिद प्रकृया अगाडि बढाइसकिएकोले एक साता भित्रमा औषधि आइपुग्ने बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर बुढाले नयाँ आर्थिक वर्षको बजेट निकासा नआएको र नगरका कार्यकारी प्रमुख पनि आउन ढिला भएकाले औषधि खरिद ढिला भएको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पतालबाट सीमित मात्रामा भएपनि औषधि झिकाएर काम चलाइरहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, डोल्पाका प्रमुख रनलाल कुलालले आफूहरूसँग भएको थोरै मौज्दात औषधि माग अनुसार पठाइदिने गरेकोमा त्यो अपर्याप्त भएको र स्थानीय तहहरूलाई छिटो भन्दा छिटो औषधि खरिद गर्न र स्थानीय तहमा स्वास्थ्यकर्मी बस्ने वातावरण बनाउन आग्रह गरिएको पनि बताए ।

मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हेल्चेक्राइँ नगर्न र छिटोभन्दा औषधि खरिद गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।

स्वास्थ्यचौकीहरूमा औषधि नभएपछि सर्वसाधारण खाली हात फर्कनुपर्ने बाध्यतासँगै काम नहुँदा खाली बस्नु परेको स्वास्थकर्मी बताउँछन् ।

Photo20191111Dolpa


विष्णुप्रसाद देवकोटा