डेङ्गुको प्रकोप फैलिएपछि सर्वसाधारणमा त्रास, नियन्त्रणका लागि सचेतनाको खाँचो

  ०७६ भदौ २६ गते

डेङ्गुको प्रकोप फैलिएपछि सामाजिक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने खाँचो देखिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख एवम् वरिष्ठ स्वास्थ्य प्रशासक डा.खगेश्वर गेलालले बताएको इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेले जनाएका छन् ।

ललितपुरमा भदौ २६ गते बिहान १० बजेसम्ममा १ सय ५ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको डा. गेलालले बताए ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार डेङ्गुबाट ललितपुर जिल्लाका ३१ जना प्रभावित भएका छन् । तीमध्ये ललितपुर महानगरपालिकाका २२ जना, महालक्ष्मी नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका तीन जना प्रभावित भएका छन् भने अन्य विभिन्न जिल्लाबाट ललितपुरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार गराइरहेका बिरामीको संख्या ७४ छ ।

दिनदिनै डेङ्गुका बिरामीको सङ्ख्या बढेको भएपनि सबै बिरामीलाई अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नरहेकाले उपचारमा समस्या भने नरहेको स्वास्थ्य कार्यालय ललितपुरका प्राविधिक शङ्कर पौडेलले बताए ।

उनले अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट बिरामीलाई परामर्शसहित औषधि दिएर घर पठाउने गरिएको समेत बताए ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा २७ जना, बि एण्ड बि अस्पतालमा २० जना, निदान अस्पतालमा २१ जना, अल्का अस्पतालमा १० जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि उनीहरूको उपचार भइरहेको छ ।

त्यसैगरी सम्झना प्याथोलोजी ल्याबबाट ११ र कम्प्रिहृयाण्सन हेल्थ क्लिनिकबाट एक जनामा डेङ्गु संक्रमण रहेको पत्ता लागेको छ ।

सुमेरू अस्पतालमा नौ जनाको उपचार भइरहेकोमा ६ जना उपचार पछि घर फर्किएका छन् भने तीन जनाको उपचार भइरहेको अस्पतालका निर्देशक दिलिप डङ्गोलले बताए ।

पाटन अस्पतालमा चार जना र किष्ट अस्पतालमा दुई जनाको डेङ्गुको उपचार भइरहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।

एडिस एजिप्र्टाई जातको लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका कारण लगातार ज्वरो आउने, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घाँटी बस्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने भएकाले तत्कालै उपचार गराउनु पर्ने र सामान्य उपचारपछि निको पनि हुने डाक्टर गेलालले बताए ।

यो लामखुट्टे कालो सेतो रङको हुने भएकोले नेपाली भाषामा यसलाई बाघे लामखुट्टे पनि भन्ने गरिएको ल्याब टेक्निसियन शंकर पौडेलले बताए ।

जमिरहेको सफा पानीमा एडिस एजिप्र्टाई जातको लामखुट्टेले फुल पार्ने र त्यसैबाट सयौँको संख्यामा लामखुट्टे उत्पादन हुने भएकोले सचेत रहनु पर्ने गोदावरी नगर स्वास्थ्य प्रमुख मधुराम केसीले बताए ।

डेङ्गु संक्रमणका कारण बढी ग्रसित भएका बिरामीहरूलाई आइसियुमा नै राखेर उपचार गर्नु पर्ने भएकाले त्यस्ता बिरामीहरूलाई अस्पतालले भर्ना गर्ने गरेको सुमेरू अस्पतालका डाक्टर डिभि कार्कीले बताए ।

ज्वारो आएर र आफूलाई डेङ्गु लागेको अनुमान गरी आउने बिरामीको संख्या बढिरहेको अस्पतालले जनाएको छ ।

नेपालमा सन् २००४ मा चितवनमा घुम्न आएका विदेशी नागरिकमा देखिएको डेङ्गु तराई, भित्री मधेशलगायतका ठाउँ हुँदै ललितपुरमा पनि देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गु रोगको नियन्त्रणका लागि लामखुट्टेको बृद्धिलाई रोक्नु पर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार डेङ्गु सङ्क्रमणका बिरामी भेटिएपछि यससम्बन्धी सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न सुरू गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म पाँच जना डेङ्गु सङ्क्रमित भएको पाइएपछि सचेतना अभियानलाई तिव्रता दिइएको हो ।

नुवाकोटको चक्रदेव पोलिक्लिनिकमा गरिएको परीक्षणको क्रममा दुई जना र नुवाकोटबाट गरत परीक्षण गराउन काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गएका तीन जनामै गरत परीक्षणको क्रममा डेङ्गु सङ्क्रमण भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले बताए ।

हालसम्म नुवाकोटका स्वास्थ्य संस्थाहरूमा ११ जनाले डेङ्गु भएको आशङ्कामा परीक्षण गराएकोमा दुई जनामा डेङ्गु सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारको लागि टेकु पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताए ।

जिल्लामा सरकारी तथ निजी क्षेत्रका स्वास्थ्य संस्थामा पनि डेङ्गु परीक्षणको सुविधा रहेको र त्रिशूली जिल्ला अस्पतालसहित निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पनि डेङ्गु रोगको परीक्षण गरिएको भए त्यसको रिपोर्ट जिल्ला स्वास्थ्य कार्यालयमा तत्काल बुझाउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत राममणी घिमिरेले बताए ।

डेङ्गुको सङ्क्रमणले सर्वसाधारणमा त्रास फैलँदै गएपछि भदौ २६ गतेबाट डेङ्गुको सङ्क्रमण फेला परेको विदुर नपा-५ देविघाटबाटै सचेतना अभियान सुरू गरिएको छ ।

स्थानीय तहहरूको सहकार्यमा जिल्लाका सबै क्षेत्रहरूमा अभियान सञ्चालन गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत सचेतनाका सन्देशहरू प्रचारप्रसार गर्ने कार्य सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरले बताए ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार डेङ्गुको सङ्क्रमणले एक जनाको मृत्यु भएपछि जिल्ला भरका नागरिकहरूमा त्रास बढेको छ ।

इन्द्रावती गाउँपालिका-१२ भिमटारका ६० वर्षीय रामबहादुर दनुवारमा डेङ्गु सङ्क्रमण देखिएपछि उपचारको लागि भदौ १८ गते काठमाडौँ स्थित भेनस अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा भदौ १९ गते मृत्यु भएको थियो ।

डेङ्गु सङ्क्रमणको माहामारी जिल्लामा नदेखिए पनि सर्वसाधारणमा डेङ्गु त्रास बढेको जिल्ला अस्पतालका डा. अनिल रेग्मीले बताए ।

डा. रेग्मीका अनुसार डेङ्गु रोगको लक्षण हालसम्म जिल्लाभर ५/६ जनलाई देखिएको र रोगको लक्षण देखिएका बिरामीहरूलाई उपचार पनि भइरहेको छ ।

उनका अनुसार रोगको लक्षण देखिनासाथ बिरामीहरू काठमाडौँका सुविधा सम्पन्न अस्पतालहरूमा जाने गरेकाले पनि जिल्लामा डेङ्गु प्रभावितको सङ्ख्या एकिन गर्न कठिनाइ भएको छ ।

त्यसैगरी इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार एक सातादेखि भाइरल ज्वरोका बिरामी बढेका छन् । भाइरल ज्वरोका बिरामी बढेसँगै स्वास्थ्यचौकी, निजी मेडिकल र जिल्ला अस्पतालमा बिरामीको चाप समेत बढेको छ ।

एक सातादेखि भाइरल ज्वरोले थलिएकी बारेकोट गाउँपालिका-६ टाँसीधुमा घरभई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशा बिकको उपचारको क्रममा मृत्यु भएको छ ।

भाइरल ज्वरोका बिरामी बढेपनि दुर्गममा रहेका स्वास्थ्य संस्थामा औषधि तथा स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले उपचार पाउन नसकेको जुनीचाँदे गाउँपालिका-५ का पत्रकार रेशम खड्काले जानकारी दिए ।

'भाइरल प्रभावित बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाँदा न औषधि पाइन्छ, नत स्वास्थ्यकर्मी नै फेला पर्दछन् ।'-खड्काले भने ।

गाउँ तथा नगरपालिकाले चालु आर्थिक वर्षका लागि औषधि खरिद प्रक्रिया अघि नबढाउदा यो समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले जनाएको छ ।

सरकारी स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा बिरामी निजी मेडिकलबाट महङ्गो मुल्यमा किन्न बाध्य भएको छेडागाड नपा-१३ का प्रसाद नेपालीले बताए ।

यातायातको सुविधा नहुँदा ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्था लैजाँदा स्ट्रेचर प्रयोग गर्दा पनि समस्या हुने गरेको नेपालीको भनाई छ ।

जिल्ला अस्पतालमा दैनिक १ सय देखि १ सय ५० जनासम्म बिरामी आउने गरेकोमा आधाभन्दा बढीजसो बिरामी भाइरल ज्वरोका आउने गरेको अस्पतालका डाक्टर केशर कार्कीले बताए ।

बिरामी बढ्दै गएपनि सञ्चित औषधि सकिँदै गएकाले समस्या हुन थालेको डाक्टर कार्कीले जानकारी दिए ।

डेङ्गु रोगको किटको समेत अभाव

देशभर भाइरल रोगको सन्त्रास फैलिएपनि जिल्लामा रोग उपचार गर्ने किट उपलब्ध नभएको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल, जाजरकोटमा रोगको सङ्क्रमण परीक्षणको लागि किट नहुँदा उपचारमा समस्या आएको अस्पतालले जनाएको छ ।

देशव्यापी रूपमा फैलिएको रोग जिल्लामा देखिने सम्भावना भएपनि किट नहुँदा रोग परीक्षणमा समस्या भएको डाक्टर भुपेन्द्रप्रकाश मल्लले बताए ।

अस्पतालमा उपचारका लागि आएका केही बिरामीमा लक्षण देखिएको भएपनि रोग पहिचान गर्ने यन्त्र नहुँदा समस्या भएको डाक्टर मल्ले बताए ।

जिल्ला अस्पतालमा आवश्यक किटका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल 'टेकु' काठमाडौँमा माग गर्ने स्वास्थ्य कार्यालय, जाजरकोटका प्रमुख गौरव ढकालले जानकारी दिए ।


अनलाइन डेस्क