डिपोमा खाद्यान्न नपुग्दा स्थानीयबासी मर्कामा

  ०७६ असोज १५ गते

जिल्लाका चार स्थानीय तहमध्ये  खत्याड, सोरु र कार्मारोङ्ग गाँउपालिकामा नेपाल खाद्य संस्थानका डिपो तथा विक्री केन्द्रमा खाद्य संस्थानले खाद्यान्न नपुर्‍याउँदा स्थानीयबासी मर्कामा परेका छन् ।

खाद्य संस्थान केन्द्रिय कार्यालयले खाद्य संस्थान मुगु शाखासहित जिल्लाका अन्य स्थानीय तहमा रहेका डिपो तथा विक्री केन्द्रलाई आर्थिक वर्ष २०७६/०७७ का लागि आवश्यक कोटा निर्धारण गरिसकेको भए पनि असार महिनादेखि खाद्य मैज्दात शुन्य रहेका ति डिपो तथा विक्री केन्द्रमा अहिले सम्मपनि खाद्यान्न ढुवानी नहुँदा स्थानीयबासी मर्कामा परेका हुन् ।

यो आर्थिक वर्षका लागि नेपाल खाद्य संस्थान केन्द्रिय कार्यालयले मुगु शाखाका लागि १० हजार, सोरुकोट डिपोका लागि २ हजार २ सय, पुलु डिपोका लागि २ हजार, श्रीकोट डिपोका लागि १ हजार २ सय र रातापानी डिपोका लागि ८ सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेको छ ।

यो आर्थिक वर्षका लागि निर्धारण गरिएको खाद्यान्न ढुवानीका लागि असोज ७ गते ठेकेदार पक्षसँग सम्झौता भएको भएपनि ढुवानी नहुँदा स्थानीयबासी मर्कामा परेको खाद्य संस्थान मुगुका प्रमुख कर्णबहादुर रावलले जानकारी दिएका छन् ।

स्तानीय ब्यपारीबाट महङ्गो मुल्य तिरेर खाद्यान्न जोहो गुर्न परेको छ । दसैँ जस्तो चाडमा पनि खाद्यान्न सदरमुकाममै पुगेर खाद्यान्न ल्याउन जानुपर्ने बाध्यता रहेको सोरुगाँउपालिका–७ सक्क बिष्ट बताउँछन् ।

जिल्लाका सबै स्थानीय तहमा रहेका डिपो तथा विक्री केन्द्र र शाखा कार्यालयमा आउने खाद्यान्न सतह मार्गबाटै गाडीमा ढुवानी गरेर ल्याउन पर्छ ।

वर्षातका कारण नाग्मा–गमगढी सडक खण्डको अवरोधले गर्दा ठेकेदारले ढुवानीका लागि सम्झौता गरेको भएपनि डिपो तथा विक्री केन्द्रमा समयमै ढुवानी नभएको हुन सक्ने खाद्य संस्थानले जनाएको छ ।


जीवन सेजुवाल