डिपोमा खाद्यान्न अभाव हुँदा स्थानीयलाई सास्ती

  ०७७ मङ्सिर २९ गते

मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पुका स्थानीयबासी खाद्यान्न लिनको लागि गाउँबाट दुई दिन पैदल हिडेर पुलु खाद्य डिपो पुग्छन् । उक्त डिपोमा साउन देखि खाद्यान्न मौज्जाद शुन्य भएपछि उनिहरू एक साता पैदल हिडेर सदरमुकाम गमगढीमा रहेको खाद्य संस्थानबाट खाद्यान्न ढुवानी गर्न बाध्य भएका छन ।

मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पुमा वर्षमा एकबाली आलु, र फापर मात्र उत्पादन हुन्छ । उत्पादित अन्नले तीन महिना समेत खान नपुगेपछि स्थानीयहरू यार्सा, जिम्फु र अन्य जडिबुटी संकलन गरेर आम्दानी भएको रकमले सरकारले सौलियतमा दिने खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ ।

पुलु डिपोमा खाद्यान्न नभएपछि घोडा खच्चड मार्फत आउन जान एक हप्ता लगाएर सदरमुकामबाट खाद्यान्नको जोहो गरेको डोल्पुका कार्मा तण्डुप लामाले गुनासो गर्नुभयो ।

उहाँका अनुसार सदरमुकामबाट घोडा खच्चड मार्फत डोल्पु पर्‍याउँदा प्रति केजी ५५ रुपैया बढी पर्न जान्छ ।

खाद्यान्नको मुल्य भन्दा बढी रकम ढुवानीमा जाने गरेको र समय पनि बढी लाग्ने गरेको सोही गाउँका पासङ्ग कामीको भनाई छ ।

यो आर्थिक वर्ष पुलु डिपोका लागि सुर्खेत कार्यालयबाट १ हजार र खाद्य शाखा मुगुबाट ७ सय क्विन्टल खाद्यान्न ढुवानी गर्न शर्मा ढुवानी सेवाले असोज १४ गते ढुवानीको सम्झौता गरेको थियो ।

शर्मा ढुवानी सेवाका प्रोपराइटर बासुदेब शर्माले सोरू गाउँपालिका–९ कालै बिक्रि केन्द्रको खाद्यान्न ढुवानी गर्ने क्रममा जापनीज चामल सुर्खेतबाट भक्तपुर लैजादै गर्दा प्रहरीले बरामद गरेपछी शर्मा अहिले अनुसन्धानको प्रक्रियामा रहेको खाद्य संस्थान कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले जानकारी दिनु भयो ।

पुलु डिपोमा खाद्यान्न ढुवानी गर्नका लागि अर्को विकल्प गर्न खाद्य संस्थान केन्द्रिय कार्यालयलाई बेला बेला पत्रचार गरिरहेको पनि मिश्रको भनाइ छ ।


जीवन सेजुवाल