ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना गिरफ्तार

  ०७७ जेठ २४ गते

इलाका प्रहरी कार्यालय खिलतपुर दाङमा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्टर ३४ वर्षीय मोहनविक्रम केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–६ पञ्चकुलेका ४९ वर्षीय चित्र डाँगी र उनका छोरा २७ वर्षीय हेमराज डाँगीलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

जेठ २२ गते राती गस्तीबाट फर्कदै गरेका केसीलाई मदिरा सेवन गरी हल्ला गर्दै हिडेका आरोपितद्वयले लाठी र ढुङ्गा प्रहार गरेको भन्दै केसीले जेठ २३ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले जानकारी दिनुभयो ।

स्थानीय विद्यालयमा रहेको क्वारेण्टाइन नजिक मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि सम्झाउन खोज्दा प्रहरी इन्स्पेक्टरमाथि कुटपिट गर्दै गर्दा  स्थानीयले देखेपछि  प्रहरीको उद्धार गरेका थिए ।

कुटपिटबाट टाउकोमा चोट लागेका केसीको जेठ २३ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार गरिएको प्रहरीले जनायो  ।

 


जयनारायण पुन