‘डा. केसीलाई आइसियुको आवश्यकता’–चिकित्सक, अर्का अनसनकारीलाई निमोनियाको सम्भावना

  ०७५ पुस ३० गते

पुस २५ गतेदेखि १६ औँ अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्न थालेको जनाइएको छ ।

अनसनमा बसेको छैठौँ दिन पुस ३० गते बिहान इलाम अस्पतालमा भर्ना गरिएका डा. केसीको साँझ सम्ममा स्वास्थ्य अवस्था थप जटिल बनेको जनाइएको हो ।

डा. केसीको उपचारमा संलग्न डा. विजेन्द्रकुमार साहले डा. केसीको पछिल्लो स्वास्थ्य परीक्षणको अवस्था सार्वजनिक गर्दै तत्काल डा. केसीलाई आइसीयु भर्ना गर्नुपर्ने अवस्था आएको बताए ।

‘डा. केसीको घाँटीमा इन्फेक्सन भएको छ । दायाँ फोक्सोमा इन्फेक्सन देखिएको छ । मुटुको चाल अनियमित भएकाले कुनै बेला बढेर २ सय ४० र कुनै बेला घटेर ३४ भएको छ । रगतमा सुगरको मात्रा कम हुँदै गएको छ ।’–साहले भने–‘डा. केसीलाई आइसीयु राख्नुपर्ने अवस्था आइसकेको छ ।’ इलाम अस्पतालमा आइसीयुको व्यवस्था नभएकाले समस्या भएको जनाइएको छ ।

अस्पतालमा आइसीयु नभएपछि प्रमुख जिल्ला अधिकारीलाई आफूले लिखित रूपमा जानकारी गराएको अस्पतालका निमित्त सुपरिटेण्डेण्ट समेत रहेका डा. साहले बताए । डा.केसीले कुनै पनि औषधि लिन नमानेकाले थप समस्या भएको पनि उनले बताए ।

डा. केसीलाई बिहान अस्पताल ल्याइएपछि नर्मल स्लाइन र अक्सिजनमा राखिएको छ । ‘कुनै समस्या आएमा प्राथमिक उपचार सम्मको व्यवस्था हामी गर्न सक्छौँ ।’–डा साहले भने–‘अवस्था थप जटिल बने त्यसको विकल्प केही छैन ।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अस्पतालले डा.केसीको अवस्थाका बारेमा पठाएको लिखित पत्र गृहमन्त्रालयमा पठाइसकेको बताए ।

‘डा.केसीलाई आइसीयु आवश्यक परेको विषयको पत्र अस्पतालले पठाएको थियो ।’–प्रजिअ तिम्सिनाले भने–‘उक्त पत्र जस्ताको तस्तै माथि पठाएको छु । अहिलेसम्म मन्त्रालयबाट केही प्रतिक्रिया आएको छैन ।’

अर्का अनसनकर्ता विजयको स्वास्थ्य अवस्था पनि जटिल बन्दै

चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्नुपर्ने माग गर्दै चारदिन अघिदेखि इलाम चोक बजारमा अनसनमा बसेका विजय थापाको पुस ३० गते स्वास्थ्य परिक्षण गरिएको छ ।

इलाम अस्पतालका डाक्टर विजेन्द्रकुमार साहले नै थापाको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणपछि थापाको पनि घाँटी, छातीमा समस्या देखिएको र निमोनियाँको सम्भावना बढी देखिएको डा. साहको भनाइ छ  ।

यसैबीच थापाको समर्थनमा पुस ३० गते इलाममा युवा तथा विद्यार्थीहरूले विभिन्न नारा जुलुससहित र्‍याली निकालेका छन् ।

संसदमा पेश गरिएको विधयेक पारित हुनुपर्ने, नेपाली युवालाई चिकित्सा शिक्षा निःशुल्क गर्नुपर्नेलगायतका नारा सहित र्‍यालीले बजार परिक्रमा गरेको थियो ।


कोकिला ढकाल