डा. केसीद्वारा १६ औँ अनसन सुरू

  ०७५ पुस २६ गते

सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डाक्टर गोविन्द केसी पुस २५ गतेदेखि इलाममा १६ औँ अनसनमा शुरु गरेका छन् । गत साउन १० गते सरकारसँग भएको सम्झौता अनुसार अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्नुपर्ने, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुँझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारीलगायतका व्यक्तिलाई सिफारिस अनुसार बर्खास्ती गर्नुपर्ने, सात ओटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल कारवाही गर्नुपर्ने, द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुन अनुसार सजाय दिनुपर्ने तथा द्वन्द्वपीडितहरूको मागलाई सुनुवाइ गर्दै सङ्क्रमणकालीन न्यायलाई शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने, नेपाल सरकारको निर्णयको उल्लङ्घन गरी काठमाडौँ विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गरिनु पर्ने लगायतका ६ बुँदे माग सरकारसँग राखेका छन् ।

सत्याग्रहका क्रममा आफूले पानीमात्र पिउने जनाऊ दिएका डा. केसीले सरकारले आफूलाई मात्र होइन ३ करोड नागरिकलाई सधैँ झुक्याउने काम गरेको भन्दै यसपटकको सत्याग्रह अन्तिम हुने बताएका छन् । इलामको फुलगाच्छीस्थित यसअघि शहरी विकास तथा भवन निर्माण डिभिजन रहेको एक जना व्यक्तिको घरमा डा. केसीले अनसन थालेका हुन् ।

सत्याग्रहका लागि सार्वजनिक स्थान नभेटिएकाले उक्त स्थानमा अनसन थालेको उनको भनाइ छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले पुस २५ मै पारित गरेको स्वास्थ्य शिक्षासम्बन्धी विधेयक सर्वसाधारण नेपालीको हितमा नभएको र आफूसँग भएको सहमतिलाई प्रस्तावना देखि नै परिवर्तन गरिएकाले अनसनको विकल्प नभएको डा. केसीले बताए ।


कोकिला ढकाल