डा. केसीको २२ दिन लामो अनशन तोडियो

  ०७३ मङ्सिर १९ गते

सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन तोडेका छन् ।

फोटो: रासस
फोटो: रासस

दसौँ पटक आमरण अनशनमा बसेका केसीले आफ्ना शुभेच्छुक र सञ्चारकर्मीबिच भूकम्पमा परी आमा गुमाएका सिन्धुपाल्चोकका अढाइवर्षीया मर्साङ तामाङको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

अनशन तोडेपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा केसीले आफ्नो लडाइँ व्यक्तिविशेषका लागि नभई समग्र चिकित्सा शिक्षा र चिकित्सा सेवाको सुधारका लागि भएको बताए । उनले भने-'राजनीतिक भागबण्डाका कारण उपकुलपतिलाई जोगाइराखेका छन् । उहाँको योग्यताको छानबिन गर्ने विषयमा सहमति भएको छ । यदि छानबिन नभए भने फेरि लड्न सक्ने अवस्था आउन सक्छ ।''

अनशनका क्रममा उनको स्वास्थ्य गम्भीर रहेकाले आजदेखि नै उनलाई थप उपचारका लागि सघन उपचार कक्षमा भर्ना गरिएको राससले जनाएको छ । त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा केपी सिँहको राजीनामालगायत बाह्रबुँदे माग राखी गत कात्तिक २८ गतेदेखि केसी अनशनमा बसेका थिए ।

गत कात्तिक २८ गते नियुक्त डिन प्रा डा सिंह वरिष्ठताका आधारमा नियुक्त नभएको भन्दै डा केसीले अनशन थालेपछि डिन सिंहले मङ्सिर १७ गते राजीनामा दिएका थिए । त्यसपछि सरकारले केसीले माग गरेझैँ वरिष्ठताका आधारमा प्रा डा जगदीशप्रसाद अग्रवाललाई मङ्सिर १८ गते नयाँ डिन नियुक्त गरेको थियो ।

सरकारी वार्ता टोली संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र प्रा डा केसीबिच त्रिवि र प्रतिष्ठानको संरचना परिवर्तन गर्न र पदाधिकारी नियुक्तिको कानुन मस्यौदा बनाउनका लागि १५ दिनभित्र उच्चस्तरीय समिति बनाउन सहमति भएको जनाइएको छ ।


अनलाइन डेस्क