डा. केसीले डडेल्धुरामा सुरू गरे १७ औँ अनशन

  ०७६ कात्तिक १८ गते

शिक्षण अस्पतालबाट निवृत्त भएका डा. गोविन्द केसीले आफ्नो १७ औँ अनशन डडेल्धुराबाट सुरू गरेका छन् ।

डा. केसीले पत्रकार सम्मेलन गरी कात्तिक १८ गते साँझ ५ बजेदेखि जिल्ला सदरमुकाम डडेल्धुरामा अनशन सुरू गरेका हुन् ।

सात बुँदे माग अघि सार्दै केसीले अनशन सुरू गरेको बताएका छन् । केसी डडेल्धुरा अस्पताल नजिकै डडेल्धुरा अस्पतालमै कार्यरत निलकण्ठ भट्टले सञ्चालन गर्दै आएको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनसन बसेका छन् । सरकारले आफ्ना माग पूरा नगरेसम्म आफ्नो अनशन जारी रहने उनको भनाई छ ।

डा. केसीले ०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न आग्रह गरेका छन् ।

उनले आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गर्न र ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट सङ्ख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्न र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्न उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति दिनुपर्ने तथा तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गरेका छन । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन भन्दै उनले १६ पटकसम्म अनशन बसिसकेको बताए ।

photo20191104dadeldhura (1)

photo20191104dadeldhura (2)

photo20191104dadeldhura (3)

Press Release_govinda kc (2)

Press Release_govinda kc (3)

Press Release_govinda kc (1)


भुपेन्द्र विष्ट