डा.केसीको सत्याग्रहप्रति निगरानी समितिको ध्यानाकर्षण

  ०७३ साउन ४ गते

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले नेपालको स्वास्थ्य सेवा र शिक्षामा भइरहेको बेथिति रोकी सुधारको प्रकृयाको मागसहित गरेको सत्याग्रहप्रति जवाफदेहीता निगरानी समितिले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका अध्यक्ष चरण प्रर्साईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सत्याग्रहको नौ दिनसम्म सरकार, प्रमुख राजनीतिक दल र संसदले देखाएको उदासीनताप्रति जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

'डा.केसीले ज्यान जोखिममा राखेर थाल्नु भएको सत्याग्रह कुनै ब्यक्तिगत स्वार्थ नभएर शिक्षा र समग्र राज्यको सामाजिक न्याय, चुस्त ब्यवस्थापन र सुशासनको लागि हो । विगतमा सरकार र उहाँबीच भएका सहमति र सम्झौता पालना नभएबाट डा.केसी फेरि आठौं पटक आमरण अनसन बस्नु पर्ने अवस्था सिर्जना हुनु दुखपूर्ण भएको हाम्रो ठहर छ ।'-जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यमान अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक अङ्गले थालेको गलत थिति तथा कार्यलाई बन्द गर्न संसदसमेत तत्काल तयार हुनुपर्ने भन्दै समितिले यस विषयलाई राजनीतिकरण गरेर ओझेलमा नपार्नसमेत अपील गरेको छ ।
अनलाइन डेस्क