डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु, पीडित पक्षद्वारा अस्पताल तोडफोड, तीन सदस्यीय छानविन समिति गठन

  ०७७ मङ्सिर ८ गते

सुखीपुर नपा–९ की २७ वर्षीया आरती साहको शल्यक्रियाको क्रममा डाक्टरको लापरवाहीले मङ्सिर ६ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले मङ्सिर ७ गते अस्पतालमा तोडफोड तथा चक्काजाम गरेका छन् ।

सुत्केरी व्यथा लागेपछि लहान नपा–३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा मङ्सिर ६ गते दिउँसो ४ बजे आरतीलाई भर्ना गरिएको थियो ।

शल्यक्रिया गर्दा आरतीको मृत्यु भएको मृतकका भाइ दुर्गीलाल साहले बताउनु भयो । ‘राति डाक्टरहरूले सुत्केरी गराउन शल्यक्रिया गर्नुपर्छ भनी अप्रेशन थिएटरमा लग्नु भयो र केही बेरपछि बच्चाको जन्म भयो । बच्चालाई आइसीयूमा लग्नु पर्छ भनेर नजिकैको सप्तऋषी अस्पतालमा हामिले बच्चालाई लिएर गयौँ ।’–साहले भन्नु भयो–‘यता डाक्टरहरू कसैलाई केही नभनी सबै जना बिस्तारै निस्किँदै गए । हामी अप्रेशन थिएटरमा गएर हेर्दा दिदी मृत अवस्थामा रहेकोले आक्रोशित आफन्तहरुले ढुङ्गा मुढा गरेका हुन् ।’

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार घटनाको जानकारी हुनासाथ अस्पताल परिसरलाई नियन्त्रनमा लिएर ‘फरार’ डाक्टर तथा सञ्चालकहरूको खोजतलास जारी छ ।

मङ्सिर ७ गते मृतकका आफन्तहरूले डाक्टर चन्द्रशेखर यादवविरुद्ध उजुरी दिएका छन् । मृत्यु पश्चात आक्रोशित आफन्तहरूले अस्पतालमा ढुङ्गामुढा गरेको तथा केहीबेर चक्काजाम गरे पनि प्रहरीले अवस्थालाई सामान्य बनाएको डिएसपी क्षेत्रीले बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको डिएसपी क्षेत्रीले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय सिरहाले घटनाको छानविनको लागि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा लहान अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र लहान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख गरी तीन सदस्यीय छानविन समिति मङ्सिर ७ गते गठन गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताउनु भयो ।


दुर्गा परियार