ठेकेदारको लापरवाहीले खाद्यान्न बाटोमै अलपत्र

  ०७६ कात्तिक २२ गते

ठेकेदारको लापरवाहीले हुम्लाका लागि पैदल मार्गबाट आएको खाद्यान्न बिचबाटोमै अलपत्र परेको छ । काठमाडौँबाट केरुङ हुँदै हिल्साबाट सल्लीसम्म आइपुगेको खाद्यान्न बाटोमै रोकिँदा खाद्यान्न सल्लीबाट सिमकोटसम्म ढुवानीमा ढिलाइ भएको छ ।

संस्थानको सिमकोट शाखाका लागि केरुङको मार्गबाट तिब्बती र हिल्सा हुँदै सल्लीसम्म आइपुगेको ४ हजार क्वीन्टल खाद्यान्न मध्ये, २ हजार ६ सय क्वीन्टल सल्ली मै खुल्ला चौरमा पालले ढाकेर राखिएको छ ।

जिल्लाका लागि पठाइएको जम्मा खाद्यान्न मध्ये १ हजार ४ सय क्वीन्टल चामल मात्रै सिमकोटमा आइपुगेको छ भने बाँकी चामल बिचबाटोमै रोकिएको छ ।

सो खाद्यान्न करिब एक महिना अगाडि हिल्साबाट सल्ली आइपुगेको थियो । केही दिनको अन्तरालमा एक दुई ट्रिप खाद्यान्न आउने गरे पनि ढुवानीको व्यवस्था छिटो गर्न सप्लायर्स कम्पनी चङ्खेली देउती बज्यै जेभीलाई ताकेता गरिएको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर बिष्टले बताए ।

हाल सिमकोटबाट हेप्का खोला खण्डको सडक विस्तार गर्ने कार्य भइरहेका कारण बाटो बन्द हुँदा खाद्यान्न आउन नसकेको ठेकेदार धु्रव शाहीले बताए ।

सल्लीबाट सिमकोट आउने बाटो निर्माण गर्ने क्रममा रोकिएपछि खाद्यान्न ढुवानी कार्य ढिलो भएको भन्ने सप्लायर्सको प्रतिक्रिया रहेको शाहीको भनाई छ ।

बाटो निर्माणमा ताकेता गरिएको र हिउँदे सिजन सुरू भएको हुँदा हिमपात भएपछि ढुवानीमा समस्या आउने हुँदा सो अघि नै खाद्यान्न ढुवानी गरिसक्ने योजना रहेको ठेकेदार शाहीले बताए ।

गत असारमा जिल्लाका लागि थप कोटाको खाद्यान्न ढुवानीको व्यवस्था काठमाडौँ केरुङ तिब्बती मार्ग हुँदै हिल्साबाट सिमकोटसम्म गर्न जिल्लाको माग अनुसार संस्थानले व्यवस्था गरेको थियो ।

जिल्लामा चामल नआउँदा यस वर्षको दशैँ र तिहारमा अदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिका, चङ्खेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा रहेका केही भेगका सर्वसाधारणले चामलबिना नै चाडपर्व मनाएका थिए ।

खुल्ला आकाशमुनि खाद्यान्न राख्दा पानी र हिमपातले भिजाएर बिग्रने हुँदा खाद्यान्न ढुवानीको व्यवस्था मिलाइरहेको खाद्य संस्थान प्रमख विष्टले बताए ।


नन्द सिंह