टाइफाइडको सङ्क्रमण बढेपछि नियन्त्रणमा समस्या

  ०७६ असार २७ गते

ठुलीभेरी नगरपालिका वडा नम्बर २ र ३ मा टाइफाइडको सङक्रमण बढेपनि पर्याप्त औषधिको अभावमा नियन्त्रण गर्न समस्या रहेको छ ।

वर्षायाम सुरू भएसँगै फैलिएको टाइफाइडको सङ्क्रमणका हाल ८० जनाभन्दा बढी बिरामी जिल्ला अस्पताल दुनैमा उपचारका लागि भर्ना भएको जिल्ला अस्पतालले जनाएको छ ।

१५ शैया क्षमता भएको जिल्ला अस्पतालमा ६० जना सर्वसाधारण र २० जना अस्पतालका चिकित्सक र कर्मचारी उपचाररत छन् ।

दिनहुँ टाइफाइडका बिमारीले अस्पताल भरिएपछि टाइफाइडको सङ्क्रमणबाट उपचारमा संलग्न चिकित्सकसमेत बिरामी भएपछि उपचारमा समस्या भएको जिल्ला अस्पतालका डाक्टर भिमबहादुर बुढाले बताए ।

२५ जना कर्मचारी भएको जिल्ला अस्पतालमा टाइफाइडले २० जना थला परेपछि अहिले आफूलगायत पाँच जनाले ठूलो सङ्ख्यामा बिरामीको उपचार गरिरहेको डाक्टर बुढाले बताए ।

अस्पतालका चिकित्सक सहित कर्मचारी नै बिरामी भएर उपचारमा समस्या भएपछि छिमेकी त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, काइके गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकामा कार्यरत चिकित्सकहरूलाई पठाइदिन माग गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

दिनहुँ बिरामीको चाप बढ्दै गएपछि अस्पतालका कोठाका भुँइसमेत खाली नभएपछि ठुलीभेरी नगरपालिकाको पुरानो भवनको हलमा केही बिरामी राखेर उपचार गरिरहेको डाक्टर सिजन रावलले बताए ।

बिरामी बढेपछि अस्पतालमा टाइफाइडको उपचारको लागि प्रयोग हुने इन्जेक्सन सेपप्राइजन र ट्याब्लेट सेपप्राइजन नामक औषधिको समेत अभाव देखिएको छ ।

जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर भीमबहादुर बुढाले अस्पतालमा असार २६ गते मात्र प्रदेश सरकारले सडक मार्ग हुँदै पठाएको १ हजार प्रति भाइरल विरूद्धको औषधि प्राप्त भएपनि  पर्याप्त नभएको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको सम्पुर्ण औषधि अस्पतालमा उपलब्ध गराएर थप औषधि प्रदेश सरकारलाई माग गरी पठाएको र प्रतिकुल मौसमका कारण चार दिनदेखि नेपालगन्ज–डोल्पा हवाई उडान नभएपछि नेपालगन्ज विमानस्थलमा औषधि थन्किएर रहेको जनस्वास्थ्य कार्यालय प्रमुख रनलाल कुलालले बताए ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले अस्पतालमा बेडहरूको अभाव भएपछि बिरामीलाई भवनको व्यवस्था गरी मेट्रेस बेड लगायतको व्यवस्था गरिएको र औषधिको व्यवस्था गरिदिन प्रदेश सरकारलाई माग गरी पठाइएको बताए ।

वर्षायामसँगै पानीको मुहान दुषित भएको र खानपानमा समेत ध्यान नपुर्‍याँउदा टाइफाइडको सङ्क्रमण फैलिएको बताइएको छ ।

सदरमुकाम दुनैस्थित तिप्ला खोलाको पानी परीक्षण गर्दा कोलिफर्म देखिएकाले सो पानी प्रयोगकर्ताले उमालेर र शुद्धीकरण गरेर मात्र प्रयोग गर्न सूचना प्रसारण गरिएको समेत जनस्वास्थ्य कार्यालय प्रमुख कुलालले बताए ।


विष्णुप्रसाद देवकोटा