झापा र मोरङमा बम फेला, सेनाद्वारा डिस्पोज

  ०७६ असार १० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको दिन मोरङका दुई स्थानमा कुकर बम फेला परेको छ ।

बुढीगङ्गा गाउँपालिका–३ शान्तिचोकमा र उर्लावारी नगरपालिका–४ स्थित सडकमा प्रेसर कुकर बम फेला परेको हो ।

बम फेला परेपछि प्रहरीले सुरक्षा घेरामा राखेको र नेपाली सेनाले डिस्पोज पारेको मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

घरेलु विस्फोटक पदार्थबाट निर्माण गरेर प्रेसर कुकर बम बनाई राखेको फेला परेको डिएसपी श्रेष्ठले बताए ।

त्यसैगरी झापाको कन्काई पुल माथि फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

सामान्य अवस्थामा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।


इन्दिरा भट्टराई