ज्येष्ठ नागरिकहरूको गुनासो–‘परिचयपत्र देखाउँदा समेत यातायातमा छुट पाइएन’

  ०७६ वैशाख ३१ गते

ज्येष्ठ नागरिकहरुले राज्यबाट प्राप्त हुने सेवा सुविधा अन्तरगत सार्वजनिक यातायातमा पाउनुपर्ने छुट परिचयपत्र देखाउँदा पनि नपाएको गुनासो गरेका छन् ।

ज्येष्ठ नागरिक कल्याण ऐनमा भएको व्यवस्था अनुसार सार्वजनिक यातायातको क्षेत्रमा ५० प्रतिशत  सहुलियत हुने व्यवस्था गरेको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक समाजका अध्यक्ष बुद्धिबहादुर रायमाझीले जान्ने सुन्ने व्यक्तिले केही सुविधा पाए पनि आम रूपमा ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सेवा सुविधा प्राप्त गर्न नसकेको बताए ।

राज्यले सेवा सुविधा पाए वा नपाएको प्रभावकारी अनुगमन गर्न नसकेका कारण ज्येष्ठ नागरिकले समस्या व्यहोर्नु परेको उनको भनाई छ ।

त्यसैगरी ताराप्रसाद पौडेलले सार्वजनिक यातायातमा अहिलेसम्म सुविधा नपाएको गुनासो गरे । उनले ज्येष्ठ नागरिकले परिचयपत्र देखाउँदा समेत सार्वजनिक यातायात व्यवसायीले छुट नदिएको गुनासो गरे ।

ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष मिनबहादुर रिजालले नीति र कानुनमा भएको व्यवस्था राज्यले कार्यान्वयन गराउन नसक्दा समस्या व्यहोर्नु परेको पनि बताए ।

ज्येष्ठ नागरिकका सम्बन्धमा संविधान र कानुनमा भएको अधिकार कार्यान्वयन गराउन र ज्येष्ठ नागरिकको सार्वजनिक यातायातमा सेवा सुविधा प्राप्त गराउनको लागि सबै पक्षसँग छलफल गरी कार्यान्वयन गराउने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद बेल्वासेले प्रतिबद्धता जनाए । उनले  ज्येष्ठ नागरिकहरूको अधिकार सम्बन्धमा स्थानीय तहमा पनि कार्यान्वयन गराउन छलफल गरिने बताए ।


नारायण भुसाल