ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यन्वयन नहुँदा सुविधाबाट वञ्चित

  ०७६ कात्तिक १७ गते

ज्येष्ठ नागरिकसम्बन्धी ऐन (संसोधनसहित) २०७५ कार्यन्वयन नहुँदा ओखलढुङ्गाका ज्येष्ठ नागरिक सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्चित भएका छन् ।

सरकारले ज्येष्ठ नागरिकलाई विषेश वर्गमा राखेर सेवा सुविधान दिन ल्याएको ऐन कार्यन्वयन नहुँदा उनीहरू सेवाबाट वञ्चित भएका हुन् ।

ऐनमा सार्वजनिक यातायात, स्वास्थ्य संस्थामा छुट दिनेदेखि स्थानीय तहमा समिति बनाएर उनीहरूका सवाल सम्बोधन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ऐनमा भएका व्यवस्था कार्यन्वयन गर्न सरोकारवालाले चासो नदिँदा समस्या आएको ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष जीवन शर्माले बताए ।

स्वास्थ्य संस्थामा उपचार तथा यातायातमा पाउने सुविधा नपाउने गुनासो आइरहेको शर्माको भनाइ छ ।

ऐनको दफा ९ मा छुट तथा सुविधासम्बधी व्यवस्था छ । उक्त व्यवस्था अनुसार सार्वजनिक यातायातमा ५० प्रतिशत भाडामा छुट, स्वास्थ्य संस्थामा प्रथामिकता दिएर पहिले उपचार गर्नुपर्ने लगायतको व्यवस्था छ ।

त्यस्तै दफा १५ मा प्रत्येक स्थानीय तहमा स्थानीय ज्येष्ठ नागरिक समिति, सेवा केन्द्र गठन गर्नुपर्ने, ज्येष्ठ नागरिकका सवाल त्यस्ता समितिमार्फत सम्बोधन गर्न बजेट व्यवस्था गर्नुपर्ने लगायतका व्यवस्था छन् ।

यी व्यवस्था स्थानीय सरकारले कार्यन्वयन नगर्दा ज्येष्ठ नागरिक मर्कामा पर्ने गरेको, बैङ्क तथा वित्तिय संस्थामा सेवा लिन जाँदा घण्टौँ लाइन बस्नु परेको, यातायातका साधनमा यात्रा गर्दा सिट समेत नपाउने गरेको ज्येष्ठ नागरिक दयाराम धमलाले बताए ।

उनले स्थानीय सरकारले ऐन कार्यन्वयन गर्नु पर्नेमा चासो नदिएको आरोप लगाए । यातायात व्यवसायी र सरोकारवालाले ज्येष्ठ नागरिकका समस्या नसुनेको उनको गुनासो छ ।

कानुनी व्यवस्था भए पनि स्थानीय तहबाट ज्येष्ठ नागरिकले सङ्घीय सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता बाहेक अन्य सुविधा पाएका छैनन् ।

स्थानीय सरकार र जिल्ला समन्वय समितिले ज्येष्ठ नागरिकका सवाल नसुनेको ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष शर्माले गुनासो गरे ।

स्थानीय सरकारले ऐन कार्यन्वयन नगरेको विषयमा चिसङ्खुगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले भने ऐनका व्यवस्था गाउँपालिकाले क्रमशः कार्यन्वयन गर्दै लैजाने बताए ।

ऐनमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा जिल्ला स्तरीय ज्येष्ठ नागरिक समिति तथा कोष बनाउनु पर्ने, त्यस्ता कोषबाट ज्येष्ठ नागरिकलाई सेवा दिइनु पर्ने व्यवस्था व्यवस्था भए पनि उक्त समिति बनेको छैन ।

यातायातमा ज्येष्ठ नागरिकले ऐनमा गरेको व्यवस्था अनुसार सुविधा नपाए उजुरी गर्न आग्रह गरे ।

उनले ऐन अनुसार परिचय पत्र लिएर यात्रा गर्ने ज्येष्ठ नागरिकलाई सुविधा नदिनेमाथि उजुरी आए कारवाही गर्ने बताए ।


शिवप्रसाद ढुङ्गाना