ज्येष्ठ नागरिकले पाएनन् यातायात सुविधा र आरक्षण सिट

  ०७६ फागुन १५ गते

 

ज्येष्ठ नागरिक परिचय पत्र भएका नेपाली नागरिकहरूलाई नेपाल सरकाले प्रदान गरेको सहुलियत यातायात व्यवसायीहरूले नदिएको दोलखाका ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।

जिल्ला भित्र र जिल्ला बाहिर चल्ने सार्वजनिक यातायातका साधनहरूले यात्रा गर्दा भाडामा सहुलियत नदिएको उनीहरूको गुनासो छ । ६० वर्ष उमेर पार गरी ज्येष्ठ नागरिक परिचयपत्र लिएका नागरिकहरूले सार्वजनिक यातायतका साधनमा ५० प्रतिशत छुट पाउनु पर्ने भए पनि  दोलखा जिल्लाबाट जिल्ला बाहिर र जिल्ला भित्रै सञ्चालन हुने कुनै पनि यातायात साधनहरूले ज्येष्ठ नागरिक परियचपत्रको आधारमा छुट नदिएको ज्येष्ठ नागरिक सङ्घ दोलखाका अध्यक्ष रङ्गध्वज बुढाथोकीले बताउनु भयो । ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०६३ को दफा ९ को उपदफा २ मा नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसमिको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तिमा दुई ओटा सीट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा पचास प्रतिशत छुट दिनुपर्नेछ भन्ने उल्लेख छ । तर दोलखामा सञ्चालन रहेका कुनै पनि सवारीले न त सीट सुरक्षित गरेका छन् न त भाडामा छुट नै दिने गरेको छन् । दोलखाबाट काठमाडौँ, रामेछापलगायत जिल्ला बाहिर तथा जिल्ला भित्र चल्ने कुनै पनि यातायात समितिले यो सुबिधा नदिएको ज्येष्ठ नागरिक प्रेम बहादुर कार्कीले बताउनु भयो । जिल्ला सदरमुकाम चरिकोटमा  रहेका यातायात व्यवसायीहरूले भने छुट दिएको बताएका छन् । कानुन कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिक अपमानित हुनु परेको ज्येष्ठ नागरिक कार्कीले बताउनु भयो । उनीहरूले ज्येष्ठ नागरिक सम्बन्धि बनेको कानुन मजबबुत भएपनि कार्यान्वयन तह फितलो हुँदा आफुहरू सेवा सुबिधाबाट बञ्चित भएको गुनासो पोख्दै आएका छन् ।


उद्धव पोखरेल