ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको गुनासो

  ०७७ असोज २८ गते

धनकुटा नगरपालिका–२ भीरगाउँकी ७५ वर्षीया हर्कमाया राई सामाजिक सुरक्षा भत्ता बुझ्न नै लागि चार घण्टा पैदल हिँडेर धनकुटा बजार आउनु भयो, तर भत्ता लिनका लागि कागजपत्र पुर्‍याउन उहाँलाई निकै सकस पर्यो । वृद्ध भत्ता बुझ्ने प्रमाणित कागजपत्र पुर्‍याउनपछि मात्रै हातमा भत्ता परेको छ ।

यसअघि घर आँगनमै चौमासिक रूपमा भत्ता बुझ्दै आउनु भएकी उहाँलाई बैङ्कबाट लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । उहाँले भन्नुभयो, ‘चेकमा लेख्न लगाउनुपर्ने, बुढेसकालमा घण्टौं लाममा बस्नुपर्ने, हिँडेर थाकेको ज्यान निकै समस्या भयो।’ उहाँले घण्टौं हिँडेर बैङ्कमा पुगे पनि प्रक्रिया मिलाउँदा दिन जाने गरेको गुनासो गर्नुभयो।

धनकुटा नगरपालिका–८ की ७२ वर्षीया चन्द्रीमाया आठपहरीयाले पनि ज्येष्ठ नागरिकले पाउन भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको बताउनु भयो । भत्ता लिन धेरै समय खर्चनुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उहाँको गुनासो छ । ‘पहिले घरमै दिन्थ्यो तर अहिले दुःख दियो’ उहाँले भन्नुभयो ‘पहिले एकपटक बैङ्कबाट दिन थालेको भत्ता फेरि घरैमा दिन थालेको थियो अहिले फेरि झन्झट र समस्या भएको छ ।’

यस्तै धनकुटा नगरपालिका–५ कर्मीटारका ८१ वर्षीय ज्येष्ठ नागरिक टीकाप्रसाद लामिछानेले पनि बैंकिङ प्रणाली ज्येष्ठ नागरिकलाई सास्ती भएको बताउनु भयो । ज्येष्ठ नागरिकलाई भत्ता सहजसँग घरघरमा बाड्ने भनेर प्रधानमन्त्री ज्यूको भनाइ पनि सुनेको थिएँ ।’ उहाँले भन्नुभयो ‘तर अहिले टाढाटाढाका बैङ्कमा खाता खोल्नुपर्नेले हामी ज्येष्ठ नागरिकलाई समस्या भइरहेको छ ।’

हर्कमाया, चन्द्रीमाया र टीकाप्रसाद जस्ता धैरे ज्येष्ठ नागरिकले वृद्धा भत्ता बुझ्न समस्या हुँदै आएको छ । धनकुटाका सयौं ज्येष्ठ नागरिक भत्ता बुझ्न बैङ्क जानुपर्ने बाध्यताबाट पीडित छन् ।

सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती छ । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैकिङ्क प्रणालीबाट दिन सुरू गरेपछि ज्येष्ठ नागरिकहरूलाई सास्ती भएको हो ।

धनकुटा नगरपालिकामा भौगोलिक हिसाबले बजार भन्दा निकै टाढा रहेका भीरगाँउ, बेलहारा, टेकुनाला, सान्ताङ, याक्तेलगायतका ठाउँका ज्येष्ठ नागरिकले भत्ता बुझ्न घण्टौं पैदल हिँडेर बजार पुग्नु परेको छ ।

कतिपयको एकदिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर र्फकनु परेको अवस्था छ । उहाँहरूले यसबाट छुटकारा दिलाइ दिन माग समेत गर्नु भएको छ ।

एकातिर शरीरमा लागेको थकान र अर्कोतिर भीडभाँड हुने भएकाले कोभिड–१९ को संक्रमणको त्रासले ज्येष्ठ नागरिकलाई निकै सताइरहेको छ । दशैँ आउन लागेको अवस्थामा यसै पनि भीड हुने बैङ्कमा सामाजिक सुरक्षा भत्ता पनि त्यहीँबाट भएपछि निकै भीड लागेको छ ।

कोरोनाको रोकथामका लागि सरकारले भीडभाँड कम गर्न भनिरहेको अवस्थामा भत्ता लिन बैङ्क नै पुग्नु परेपछि बैङ्कमा भीडभाँड बढेको छ ।

देशका धेरै ठाउँमा सामाजिक सुरक्षा भत्तामा अनिमितता भएपछि सरकारले त्यसलाई रोक्न बैकिङ्क प्रणाली सुरू गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वडाबाट दिँदा ज्येष्ठ नागरिकलाई सहज भए पनि कतिपय ठाउँमा अनियमितता भएपछि सरकारले बैकिङ्क प्रणालीबाट दिन सुरू गरेको हो ।

शारिरीक रूपमा अशक्त भएका ज्येष्ठ नागरिकले बैङ्कबाट भत्ता लिन कठिन भएको गुनासो गरेका छन् ।

स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने ज्येष्ठ नागरिकहरूको माग छ । राज्यले हरेक कारोबारलाई बैंकिङ्क प्रणालीमा लैजाने नीति अनुरूप ज्येष्ठ नागरिकहरूले पनि बैङ्क खाताबाट नै पैसा निकाल्नुपर्ने योजना बनाए पनि ज्येष्ठ नागरिकलाई भने सास्ती भएको छ ।

सामाजिक सुरक्षाको भत्ताका नाममा बैंकिङ्क प्रणालीले असुरक्षा भएको गुनासो भएको ज्येष्ठ नागरिकहरूको गुनासो छ । ८०-८५ वर्ष नाघेका ज्येष्ठ नागरिक तीन-चार घण्टाको यात्रा तयगरी भत्ता बुझ्नुपर्ने बाध्यतामा छन् । आगामी दिनको भत्ता वितरण वडा कार्यालयमै गर्दा राम्रो हुने ज्येष्ठ नागरिकहरूको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि धनकुटा नगरपालिकामा भीडभाँड कम होस भन्ने उद्देश्यले वडा–१, २ र १० का लागि माछापुच्छ्रे बैङ्क, वडा –५, ६ र ८ का लागि सिद्धार्थ बैँङ्क, वडा –४ र ७ को सनराइज बैँङ्क, वडा–३ का लागि मुक्तिनाथ बैङ्क र वडा–९ का लागि साङ्ग्रिला बैङ्कमा अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

ती बैङ्कले ९० वर्ष माथिका ज्येष्ठ नागरिक र क वर्गका अपाङ्गताको लागि भने बैङ्क खाता खोल्न र भत्ता वितरण गर्न घरदैलो अभियान चलाउनु पर्ने भएता पनि कुनै पनि बैङ्कले अभियान चलाएका छैनन् ।

बैङ्कमा आउन नसक्ने ज्येष्ठ नागरिक र क वर्गका अपाङ्गताको लागि घरमै गएर खाता खोलेर सहजताका लागि गाउँमै गएर भत्ता वितरण सुरू हुने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिनुभयो ।

‘सरकारी नीतिअनुसार सामाजिक सुरक्षा भत्ता र वृद्ध भत्ता बैंकिङ्क प्रणालीबाट दिने व्यवस्था छ ।’ थापाले भन्नुभयो,  ‘आर्थिक सुशासनका लागि बैंकिङ्ग प्रणाली लागू गर्नै पर्छ ।’

बानी नबसेकाले ज्येष्ठ नागरिकले बैङ्कबाट भत्ता लिन सास्ती भएको बताए पनि केही समयपछि सहज हुने थापाको भनाइ छ ।

राज्यले हरेक कारोबारलाई बैंकिङ्क प्रणालीमा लैजान चाहेकोले हरेक नेपालीको बैंङ्क खाता हुनुपर्ने तथा ज्येष्ठ नागरिकहरूले पनि बैंङ्क खाताबाट नै पैसा निकाल्नुपर्ने उहाँको भनाइ छ ।

माछापुच्छ्रे विकास बैंङ्क धनकुटाका शाखा प्रबन्धक गोविन्द श्रेष्ठले वडामा ९० वर्षमाथिका जेष्ठ नागरिक र क कर्गका अपाङ्गको विवरण माग गरेको र सोही अनुसार गाउँमा गएर खाता खोली दिने बताउनु भयो ।

Photo 20201014 Dhankuta (1)

Photo 20201014 Dhankuta (2)

Photo 20201014 Dhankuta (3)

Photo 20201014 Dhankuta (4)


ईश्वर थापा