ज्येष्ठ नागरिकलाई कुटपिट गर्ने प्रहरीमाथि कारवाही

  ०७७ जेठ ७ गते

वीरगंज–८ नयाँबसपार्क बस्ने ६५ वर्षीय नागेन्द्र पटेललाई कुटपिट गर्ने नेपाल प्रहरीका असई लालबाबु साहलाई प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले अनुसन्धानकोलागि जेठ ६ गते प्रदेश कार्यालय जनकपुरमा झिकाएको छ ।

जेठ ५ गते बिहान ६ः०० बजेको समयमा घरका बच्चाहरूको लागि दुध किन्न जाँदा प्रहरीले निर्घात कुटिपट गरेको उहाँले बताउनु भयो  । वीरगंज नयाँ बसपार्क प्रहरी चौकीबाट खटेका असई लालबाबु साहको पिटाइबाट खुट्टा भाँच्चिएको पटेलले बताउनु भयो  ।

पीडित पटेल बसपार्क नजिकै रहेको होटल ऋद्धि सिद्धिका सञ्चालक हनुहुन्छ  ।

असईको लाठी प्रहारबाट पटेलको खुट्ट भाँचिएको खुलेपछि  प्रदेश २ को प्रहरी कार्यालयले असई साहलाई जनकपुर झिकाएर अनुसन्धान थालेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले प्रारम्भिक अनुसन्धानमा असई लालबाबु साहले कुटपिट गरेको पाइएको बताउनु भयो  । डीआईजी सिहंले कारवाही प्रक्रिया सुरू भइसकेको बताउनु भयो । अन्य प्रहरीलाई पनि सम्यमित रहन डीआईजी सिंहले निर्देशन दिनु भएको छ  ।

पीडित पटेलको जेठ ५ गते वीरगंज–१५ इतियाहि स्थित नेसनल मेडिकल कलेजमा उपचार भएको थियो ।


केसी लामिछाने