ज्येष्ठ नागरिकलाई कुटपिट गरी हत्या, आरोपित गिरफ्तार

  ०७६ भदौ २१ गते

चुमनुव्री गाउपालिका–१ सामागाउँका ६८ वर्षीय ज्येष्ठ नागरिक तेन्जेङ दोर्जे लामालाई भदौ १७ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३७ वर्षीय निमादोर्जे लामालाई जेठ १८ गते गिरफ्तार गरी हेलिकप्टर चार्टर गरेर आरुघाट ल्याएको छ ।

सामान्य घरयासी विवादमा भदौ १७ गते लामालाई निमाले कुटपिट गरेका थिए । उनको भदौ १७ गते नै निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीले बताए ।

‘गुम्वाको बालुवा चोरी गरेको आरोप तेन्जेङले निमालाई लगाएछन् ।’–अधिकारीले भने–‘पटकपटक बालुवा चोरी गरेको आरोप लगाएपछि तेन्जेङलाई कुटपिट गरेको प्रहरी बयानमा निमाले स्वीकारेका पनि छन् ।’

निमाविरूद्घ तेन्जेङ परिवारले भदौ १९ गते प्रहरीमा लिखित उजुरी दिएको प्रहरीले जनाएको छ । तेन्जेङको शव प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा पोष्टमाटम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती