ज्येष्ठ नागरिकको हत्या, आरोपित पत्नी र छोरा गिरफ्तार

  ०७६ असोज २२ गते

महादेवा गाउँपालिका–१ पकरीका ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया पत्नी जमुनी खातुन र २३ वर्षीय छोरा नइम पमरियालाई असोज २१ गते गिरफ्तार गरेको छ ।

मृतकका भाइ मो. इसराइल पमरियाले असोज २० गते दिएको उजुरी र प्राप्त प्रमाणका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए ।

मदिराको सुरमा असोज १९ गते राति कुटपिट गरी गफुरको हत्या गरेपछि नइम र जमुनी फरार भएका थिए ।

कुटपिटबाट गम्भीर घाइते गफुरलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि मृतकका जेठा छोरा २५ वर्षीय मो. हकिम पमरियालाई सोधपुछका लागि प्रहरीले असोज २० गते नियन्त्रणमा लिएको थियो । शवको पोष्टमार्टम असोज २० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको छ ।


मनोहरकुमार पोखरेल