ज्याला र ऐन कार्यान्वयन माग गर्दै चिया श्रमिक आन्दोलित

  ०७५ भदौ १८ गते

सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐन-२०७४ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै इलामका चिया श्रमिकहरू आन्दोलित भएका छन् । बगान व्यवस्थापन पक्ष र चिया उद्योगहरूले सरकारले ०७५ साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा प्रकाशित ज्याला र श्रम तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेपछि भदौ १७ गतेदेखि मजदुरहरू आन्दोलित भएका हुन्  । मजदुरहरूले बिहान ८ बजे अघि र दिउँसो ४ बजेपछि आन्दोलन गर्ने गरी भदौ २२ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरेको जनाएका छन् । सोही कार्यक्रम अन्तर्गत भदौ १८ गते बिहान ८ बजे अघि उनीहरूले नाराबाजी गरेका छन् ।

मजदुरहरूले न्यूनतम ज्याला र ऐन कार्यान्वयनको माग गर्दै भदौ १७ गते इलामका सिडिओलाई ज्ञापनपत्र बुझाएका छन् । मजदुरहरूले बगान तथा प्रतिष्ठानहरूमा कालो झण्डा गाड्ने र कालो व्यानरमा आफ्ना माग रहेका नारा उल्लेख गरेर नाराजुलुस गरेको मजदुर नेता उमेश रेग्मीले जानकारी दिए ।

०७५ साउन १ देखि नै लागू हुनेगरी सरकारले चिया श्रमिकको न्यूनतम् ज्याला साउन ३१ को राजपत्रमा प्रकाशित गरेको थियो । राजपत्रअनुसार चिया श्रमिकको मासिक ज्याला ६ हजार ४ सय ६९ र महङ्गी भत्ता ४ हजार ३ सय १२ गरी १० हजार ७ सय ८१ रुपियाँ तोकिएको छ । दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रूपियाँ तोकिएको छ । चिया कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपियाँ दिनुपर्ने राजपत्रमा उल्लेख छ । तर, चिया उद्योगहरूले भने अहिले पनि ३ सय ८ रुपियाँ पाउनुपर्नेमा २ सय ७९ रुपियाँ र दुई सय ७८ रुपियाँ पाउनुपर्नेमा दुई सय ६५ रुपियाँ मात्रै दिइरहेको मजदुर नेता रेग्मीले बताए ।


कोकिला ढकाल