ज्यालामा लैङ्गिक विभेद कायमै !

  ०७६ असार २७ गते

संविधानको भाग–३ मा मौलिक हक र कर्तव्यको धारा १८ मा समानताको हक अन्तर्गत (उपधारा ४) मा समान कामका लागि लिङ्गका आधारमा पारिश्रामिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन भन्ने उल्लेख छ । यद्यपी जिल्लामा लैङ्गिक आधारमा ज्यालामा विभेद कायमै रहेको पाइएको छ ।

जिल्लाका अधिकांश क्षेत्रमा पुरूष र महिलाबीच ज्याला विभेद कायम छ । समान काम तर असमान ज्याला अझै हट्न सकेको छैन । खेतबारीदेखि कन्ट्रक्सनका काममा समेत ज्याला समान छैन । असारको उखरमाउलो गर्मी । क्षणभरमै दर्किने पानी । घामपानी छल्नका लागि कोदोको ब्याडमै घोचासँगै गाडिएको छाता । तल्लो/माथिल्लो गरामात्रै होइन, गाउँभरिका खेतबारीमा कतै कोदो त कतै धान रोप्न व्यस्त । मानो खाएर मुरी उब्जाउने असार महिना भएर होला, दिनको समय गाउँघर सुनसान छन् । खेतबारीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म व्यस्त देखिन्छन् ।

धानको बेर्ना जति उखेल्दै गयो, उति अगाडी गाड्छन छाता । फुङलिङ नगरपालिका–९ की ५५ वर्षीया दिलमाया घतानी कोदोको बेर्ना उखेल्दै, छातासँगै बाँधिएको घोचा अघि बढाउँछिन् । आफ्नो घरवारीमा कोदो रोपी सकेर उनी अर्काकोमा ज्यालामा काम गर्छिन् । गाउँघरमा मौसम अनुसार काम पाइन्छ ।

असारमा धान र कोदो रोप्ने काम गरेबापत दिनभरको ज्याला २ सय ५० रुपियाँ पाउने गरेको घतानीले बताइन् । उनले भनिन्–“यही काम उत्तिनै समय पुरूषले गर्दा ५ सय रुपियाँ ज्याला पाउँछन् । तर, महिलाले आधा मात्र पाउँछन् ।”

फुङलिङ नगरपालिका–४ की दावाफुटी शेर्पा गुरुङले पनि ज्यालामा पुरूषले पाउने ज्यालाको आधा मात्र पाउने गरेको बताइन् ।

उनले भनिन्–“काम अनुसारको ज्याला फरक हुन्छ । हामी छोरी मान्छेले उही काम गरेपनि पुरूषले पाएको ज्यालाको आधामात्र पाउँछौ ।”

पति कुमार गुरुङले पत्नीको ठीक दोब्बर ज्याला पाउँछन् । फुर्सदमा घरनजिकै गिट्टी कुट्दै गरेका पति–पत्नीद्वयका अनुसार काम गराईमा फरक नभएपनि ज्यालामा फरक गर्दा पीडा हुन्छ ।

फुङलिङ नगरपालिका–७ की कृष्णमाया बिक ६१ वर्ष पुगिन् । धान, कोदो रोप्नदेखि बेला मौका स्थानीयस्तरमा आयोजनाको काम गर्छिन् ।

यतिका वर्षसम्म पुरूष सरह ज्याला पाएको उनलाई थाहा छैन । बिकले भनिन्–“तुलनात्मक रूपमा पुरुषले जति महिलाले काम गर्न सक्दैनन् । सायद त्यही भएर होला कम ज्याला दिन्छन् ।” तर पनि उत्तिकै समय, उही काम तर ज्याला कम हुँदा चित्त दुख्ने गरेको उनको भनाई छ ।

ज्यालामा गएपछि तोकिएको समय पसिना बगाउनैपर्छ । काम गरेको दिन मौसमले साथ नदिए भोलिपल्ट पूरा गर्नैपर्ने बाध्यता छ ।

फुङलिङ नगरपालिका–५ का डम्बर माबो लिम्बु घर बनाउने राजमिस्त्रीको काम गर्छन् । ५० वर्षीय लिम्बुले घरको ठेक्कापट्टा लिएर काम गर्छन् । कामदार पनि लगाँउछन् ।

घर निर्माणमा महिला कामदार न्यून हुन्छन् । उनले भने–“काम अनुसारको दाम हुन्छ । पुरूषले जसरी काम गर्न सक्दैनन् ।”

फुङलिङ नगरपालिका–८ का ठेकेदार डम्बर लिम्बुका अनुसार पुरूष र महिलाले एउटै काम समान समय दिएर गरेपनि ज्याला कम दिने चलन छ । लिम्बुले भने–“परम्परादेखि नै प्रायले कम ज्याला दिन्छन् ।”

खेतबारीको कामदेखि ठूला आयोजनाको काममा महिला कामदार ज्यालामा ठगिएका छन् । मानव अधिकारकर्मी शान्ता आङवुहाङले महिला भएकै कारणले ज्यालामा विभेद हुन नहुने बताइन् ।

उनले भनिन्–“संविधान, कानुनमा सबै समान छन् । तर, व्यवहारमा असमानता यथावत छ ।” पत्रकार महासङ्घ ताप्लेजुङ शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले ज्याला बहस सैद्धान्तिक रूपमा भए अनुसारको व्यवहारमा कार्यान्वयन नभएको अनुभव सुनाए ।

शहरदेखि गाउँसम्म महिला कामदारले उचित ज्याला पाएका छैनन् । समान कामको समान ज्याला जनचेतनामुलक अभियान, अनुगमन र कानुन कार्यान्वयन गर्न सम्बन्धित कार्यालयले बढी अग्रसरता लिनुपर्ने अध्यक्ष श्रेष्ठको तर्क छ ।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार ज्याला विभेद बारे प्रशासनमा कुनै उजुरी आएको छैन । उद्यपि ज्याला विभेदको समस्याले समाजमा जरा गाडेको हुनसक्ने उनको भनाई छ ।

प्रजिअ भण्डारीले भने–“कार्यान्वय हुनुपर्छ । यदि कार्यान्वयन नगरेको उजुरी आए कानुन बमोजिम अघि बढ्छौँ ।”

एकै प्रकृतिको काम गर्दा महिलाहरूले कम ज्याला पाउनुले उनीहरूको आर्थिक अधिकार खुम्चिएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का प्रमुख मोहनदेव जोशीले बताए ।


देवराज गुरुङ