जोखिम बस्तीका भूकम्प पीडितलाई स्थानान्तरणमा समस्या

  ०७५ पुस १६ गते

०७२ वैशाख १२ को भूकम्पले घर भत्किएका जिल्लाका जोखिम बस्तीका भूकम्प पीडितसँग आफ्नो नाममा सुरक्षित जमीन नहुँदा स्थानान्तरणको प्रक्रियामा समस्या भएको छ ।

हालसम्म जोखिम बस्ती अन्तर्गत पर्ने धार्चे गाउँपालिका–२ केराँैजाका १ सय ९३ पीडितलाई मात्र स्थानान्तरणका लागि लालपुर्जा वितरण भएको छ ।

भूकम्पले जोखिममा परेको पुरानो बस्तीबाट विस्थपित भएका पीडितलाई केरौँजाकै डोङ्गान, बाम्लाचो र लामावेशीमा स्थानान्तरणको लागि जग्गाको व्यवस्था गरिएको वडा अध्यक्ष सुकबहादुर गुरूङले बताए ।

जग्गा खरिदका लागि सरकारले बढीमा २ लाख उपलब्ध गराउने भने पनि पछिल्लो समय जग्गाको भाउ महङ्गो हुँदा धेरै जसो स्थानीयले जग्गा खरिद गर्न नपाएर समस्यामा परेको गुरूङको भनाई छ ।

मुच्चोकका आठ पीडित घर परिवारलाई लालपुर्जा वितरणको अन्तिम तयारीमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालयका प्रमुख रामशरण आचार्यले बताए ।

केरौँजाका ३ सय ४७, बारपाकका ५५, मुच्चोकका ३४, सिर्दिवासका २४, उहियाका नौ र मान्वुका एक घर धुरी स्थानान्तरण गर्नुपर्ने भुगर्वविद्को अध्ययनले देखाएको आचार्यले जानकारी दिए ।

जिल्लामा रहेका भुकम्प पीडितसँग लालपुर्जा नहुँदा पनि अझै घर बनाउन सकेका छैनन् । लाभग्राही सूचीमा नाम समावेश भएपनि भुकम्प पीडितसँग लालपुर्जा नहुँदा यस्ता पीडितले अनुदान सम्झौता गर्न नसकेका हुन् ।

लालपुर्जा नभएका भूकम्प पीडित कति छन् भन्ने अहिलेसम्म आधिकारिक तथ्याङ्क यहाँका कुनै पनि सरकारी कार्यालयसँग छैन ।

पुनर्निर्माण प्राधिकरण जिल्ला इकाईको कार्यालयले भने जिल्लामा भूमिहीन भूकम्प पीडित करिब १ हजारको हाराहारीमा भएको बताएको छ । भूमिहीन भूकम्प पीडितको पहिचान र तथ्याङ्कको लागि स्थानीय तहलाई तोकिएको इकाईका आचार्यले बताए ।

भूकम्पका कारण जिल्लाका झण्डै ७० हजार घर आंशिक र पुर्ण क्षति भएकोमा ४३ महिना बितिसक्दा जिल्लामा ४२ हजार ४ सय ४७ नीजि आवासको निर्माण सकिएको छ ।

निर्माणाधीन अवस्थामा रहेका ५२ हजार ९ सय ७५ पीडितको खातामा दोस्रो किस्ताको रकम निकासा भएको पुनर्निर्माण प्राधिकरण जिल्ला इकाईको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुासार ६५ हजार ६ सय ६७ घर पुननिर्माण तथा ५ हजार २ सय ६ पीडित लाभग्राही प्रवलीकरण सूचीमा समावेश छन् । ६२ हजार ७ सय ७७ पीडितको खातामा पहिलो किस्ताको रकम निकासा भएको इकाईले जनाएको छ ।


हरिराम उप्रेती