जोखिम पूर्ण भवनमा बालबालिका पढन बाध्य

  ०७६ फागुन २१ गते

व्यास गाउँपालिका –४ स्थित सम्पाल माध्यमिक विद्यालयको जीर्ण र जोखिमपूर्ण भवन पुननिर्माण हुन नसक्दा  विद्यार्थीहरू जोखिम मोलेरै पढन बाध्य भएका छन् ।

१० कक्षासम्म पढाई हुने सो विद्यालयको एकदेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई जीर्ण र जोखिम पूर्ण भवनमा पठनपाठन गर्नु पर्ने बाध्यता भएको विद्यालयका प्रधानध्यापक भुपसिंह कुवरले बताउनु भयो ।

पञ्चायतकालमै निर्माण भएको भवन अहिलेसम्म पुर्ननिर्माण नहुँदा एकदेखि पाँच कक्षासम्मका ८८ जना विद्यार्थीलाई जीर्ण र जोखिमपूर्ण भवनमा पढाउनु पर्ने बाध्यता रहेको प्रधानध्यापक कुवरले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो – ‘भवनको पर्खाल आधा भत्किएको छ । भुकम्प आउँदा विद्यालयको अधिंकांश पर्खालबाट ढुङ्गा समेत खसेका छन् । जीर्ण र जोखिम पूर्ण रूपमा रहेको भवनका कारण वर्षायाममा विद्यार्थीको पढाई अवरूद्व हुने गरेको छ । पानी पर्न थाल्यो भने विद्यालय छुट्टी गर्नु पर्ने अवस्था छ । जीर्ण भवनका झ्याल ढोका समेत छैनन् । भवनका अधिकांस पथ्थर खसेका छन् । भवन भत्किने डर पनि उत्तिकै छ । तर, भवन अभावका कारण जोखिम मोलेर पढाउनुको विकल्प छैन् ।’

पुराना विद्यालय भवन भत्काएर नयाँ भवन बनाउनतर्फ यसअघि कुनै निकायबाट सहयोग नहुँदा विद्यार्थी शिक्षकले समेत जोखिम मोलेरै पढाई सञ्चालन गर्नु परेको शिक्षक पदमराज भट्टको भनाइ छ ।

व्यास गाउँपालिका प्रवक्ता धिरनसिह बुढाथोकीले यो वर्ष सम्पाल माध्यमिक विद्यालयको फिल्ड निर्माणको लागि बजेट विनियोजन गरेको र दुई कोठे भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट विनियोजन समते भइसकेकोले समस्या समाधान हुने बताउनु भयो ।

photo20200304darchula

 

 


नरेन्द्रसिह कार्की