ज्येष्ठ नागरिकले यातायात सेवामा आरक्षण सिट र सहुलियतकोे सविधा नपाएको गुनासो

  ०७६ फागुन २९ गते

ज्येष्ठ नागरिक परिचय–पत्र भएका नेपाली नागरिकलाई नेपाल सरकारले प्रदान गरेको यातायात सेवामा आरक्षण सिट र सहुलियतको सुविधा यातायात व्यवसायीहरूले नदिएको जिल्लाका ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।

६० वर्ष उमेर काटेका ज्येष्ठ नागरिकको परिचय–पत्र पाएका नागरिकहरूले सार्वजनिक यातायतका साधनमा ५० प्रतिशत छुट पाउनु पर्ने व्यवस्था भएपनि जिल्ला भित्र र जिल्ला बाहिर चल्ने सार्वजनिक यातायातका साधनहरूले यात्रा गर्दा भाडामा सहुलियत नदिएको ज्येष्ठ नागरिक समाज, जाजरकोटका अध्यक्ष चक्र बहादुर चन्दले गुनासो गर्नु भएको हो ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा ९ को उपदफा २ मा नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तिमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा पचास प्रतिशत छुट दिनुपर्नेछ भन्ने उल्लेख छ ।

तर जाजरकोटमा सञ्चालनमा रहेका कुनै पनि सवारी साधनले न त जेष्ठ नागरिकका लागि सिट सुरक्षित गरेका छन् न त भाडा दरमा छुट नै दिने गरेका छन् ।

जाजरकोट बाट सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायत जिल्ला बाहिर तथा जिल्ला भित्र चल्ने कुनै पनि यातायात समितिले यो सुबिधा नदिएको ज्येष्ठ नागरिक गोरख बहादुर सिंहले बताउनु भयो ।

राज्यले जेष्ठ नागरिकलाई सहुलियत दिनका लागि बनाइएका कानुन कार्यान्वयन नहुँदा जेष्ठ नागरिक अपमानित हुनु परेको जेष्ठ नागरिक सिंहले बताउनु भयो । उनीहरूले ज्येष्ठ नागरिक सम्बन्धि बनेको कानुन बलियो भएपनि कार्यान्वयन तह फितलो हुँदा आफूहरू सेवा सुबिधाबाट बञ्चित भएको गुनासो पोख्दै आएका छन् ।

प्रमाण बोकेर कोही पनि नआएको र प्रमाणसहित ज्येष्ठ नागरिक आएमा छुट दिने कुशेमालिका यातायात व्यवसाय समितिका अध्यक्ष नवराज सिंहले बताउनु भयो ।

भेरी नपामा मात्र ३ हजार ३ सय जना ज्येष्ठ नागरिक भएको भेरी नपाका सामाजिक विकास शाखाका प्रमुख केदार बहादुर कार्कीले जानकारी दिनु भयो ।


दिनेश कुमार श्रेष्ठ