जुम्लामा ४ दशमलब ५ प्रतिशत खाद्यान्न अपुग

  ०७३ कात्तिक १२ गते

जिल्ला कृषि विकास कार्यालयले जुम्लामा ४ दशमलब ५ प्रतिशत अर्थात १ हजार ४ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको जनाएको छ ।

जुम्लाको प्रक्षेपित जनसङ्ख्या १ लाख १६ हजार ६१ रहेको उल्लेख गर्दै कार्यालयले प्रति वर्ष १ सय ९१ किलोग्राम खाद्यान्न प्रतिव्यक्तिलाई आवश्यकता हुने जनाएको छ । यो हिसाबले २२ हजार १ सय ६८ मेट्रिक टन खाद्यान्नको आवश्यकता रहेको जिल्ला कृषि विकास कार्यालय, जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले बताए ।

उनले भने-'अहिले जिल्लामा २१ हजार १ सय ६४ मेट्रिक टन खाद्यान्न उत्पादन भएकोले १ हजार ४ मेट्रिक टन अर्थात ४ दशमलब ५ प्रतिशत खाद्यन्न अपुग रहेको छ ।'

धान २ हजार ९ सय हेक्टर क्षेत्रफलममा ५ हजार ८ सय ४४ मेट्रिक टन, मकै ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा ६ हजार १ सय १६ मेट्रिक टन, गहुँ २ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा २ हजार ८ सय ४४ मेट्रिक टन, कोदो ३ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय ८६ मेट्रिक टन, जौ ३ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा २ हजार ७ सय ३४ मेट्रिक टन, उवा ५ हेक्टर क्षेत्रफलमा ५ मेट्रिक टन, फापर ८७ हेक्टरमा ७० मेट्रिक टन, चिनो २ सय हेक्टर क्षेत्रफलमा २ सय ३२ मेट्रिक टन र कागुनो १३ हेक्टर क्षेत्रफलमा १४ दशमलब ४४ मेट्रिक टन आद्यान्न उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय, जुम्लाले जनाएको छ ।

बाँकी अपुग भएको खाद्यान्न जिल्लाबाहिरबाट खाद्य संस्थानमार्फत पुर्ति गर्नुपर्ने योजना अधिकृत देवकोटाले बताए ।


मानदत्त रावल