जुम्लामा स्वास्थ्य बीमाका बिरामीले पाएनन् निःशुल्क औषधि

  ०७७ कात्तिक २७ गते

जुम्लाका स्वास्थ्य बीमा कर्ताहरूको अस्पतालबाट निःशुल्क रुपमा पाउनु पर्ने औषधि नपाएको गुनासो छ ।

कात्तिक २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणपछि चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष जगदिश चौलागाईले स्वास्थ्य बीमा अनुसार औषधि नपाएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘डक्टरले बिरामी पुर्जामा लेखेको पाँच प्रकारका औषधिमध्ये दुई किसिमको औषधि अस्पतालको फार्मेसीले दियो । बाँकी तीन प्रकारका औषधि बाहिरका निजी मेडिकलबाट किन्ने भन्ने जबाफ दिइयो । बाहिरी फार्मेसीबाट ८ सय ५० रुपियाँको औषधि किनेँ ।’

स्वास्थ्य बिमित व्यक्तिमध्ये उहाँ त एक उदाहरण मात्र हुनुहुन्छ । स्वास्थ्य उपचार सेवा सहुलियत रुपमा गराउने हेतुले बीमा गरेका बिमित नागरिकहरूले बीमाबाट उपचार गराउने भनेर अस्पताल पुगेका बिरामीहरूले पैसा नबोकेकाले औषधि नलिएरै खाली हात फर्कने गरेका छन् ।

उनीजस्तै सयौँ सेवाग्राहीले पनि यस्तै दुःख भोग्दै आएका छन् । बिमाकर्ताले वार्षिक ३ हजार ५ सय रुपियाँ तिरेर १ लाख रुपियाँसम्मको औषधि उपचार पाउने नारामा मात्र सीमित भएको बिमाकर्ताले गुनासोे गरेका छन् ।

संविधानको धारा ३५ मा आधारभुत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरिएको छ । नागरिकको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटानी समेत गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम परिवारमा आधारित एक बृहत साझेदारी कार्यक्रम हो । जुम्लामा मात्र ४६ हजारले स्वास्थ्य बीमा गरेका छन् ।

प्रतिष्ठानको डीन नियुक्तिलगायतका विषयमा प्रतिष्ठानको प्रशासन, उपकुलपति, रजिष्टार, डीनको कार्यकक्षमा गत असोज २८ गतेदेखि तालाबन्दी छ ।

प्रतिष्ठानका प्रशासन प्रमुख द्धोन्द शाहीका अनुसार तालाबन्दीले अस्पताल प्रशासनमा समस्या परेको छैन ।

‘तर, फर्मेसीमा औषधि मौज्दात न्यून भएकाले केहीकेही औषधि बिरामीले नपाएका पनि हुन सक्लान् । नयाँ चालु वर्षको औषधि खरिदको टेण्डर भइसकेको छ । तत्काल अपुग औषधि कोटेशनबाट पनि खरिद गरेर ल्याइएकाले बिरामीको हात खाली पठाउने गरेका छैनौँ ।’–उहाँले भन्नुभयो ।


मानदत्त रावल