जुम्लाकोट स्वास्थ्य चौकीमा सिटामोलको समेत अभाव

  ०७६ कात्तिक २२ गते

तिला गाउँपालिका–८ जुम्लाकोटमा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि सिटामोल समेतको अभाव हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

स्थानीय रनजित रावतले स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि नहुँदा सामान्य रूघाखोकीका बिरामीको लागि पनि तीन घण्टा टाढा हिँडेर रारालिहिमा रहेको निजी मेडिकलबाट औषधि ल्याउनु पर्ने अवस्था रहेको बताए ।

स्वास्थ्यकर्मी र उपकरण भएपनि औषधि समयमा स्वास्थ्यचौकीमा नआउँदा सानो सानो रोगका बिरामीलाई समस्या भएको बताए ।

जुम्लाकोट स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि नहुँदा बिरामीलाई समस्या भएको अनमी विष्णुकली रावतले स्वीकार गरिन् । उनले भनिन्–‘गाउँपालिकाको स्वास्थ्य शाखामा औषधि माग गरेका छौँ आइपुगेको छैन ।’

हाल स्वास्थ्य संस्थामा सिटामोल, जीवनजल, एमोक्सीलिन, सलाइनपानी जस्ता अत्यावश्यक औषधि नभएको रावतले बताइन् ।

जिल्लामा हाल चिसो बढेका कारण दैनिकजसो २५ देखि ३० जना रूघाखोकी र ज्वरोका बिरामी स्वास्थचौकीमा उपचारका लागि आउने गरेको भएपनि औषधि नहुँदा रित्तै फर्किनु पर्ने रावतले बताइन् ।

स्ट्रेचर उपलब्ध गराउन स्थानीयको माग  
तिला गाउँपालिकाको तत्कालिन घोडेमहादेव र मालिकाठाटा गाविसमा अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । सडक नहुँदा बिरामीलाई स्ट्रेचर र डोकोमा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता स्थानीयलाई छ ।

तर, सो ठाउँका सेवाग्राहीलाई पर्याप्त स्ट्रेचर नभएका कारण समस्या हुने गरेको स्थानीय रत्ना बस्नेतले गुनासो गरिन् । गाउँपालिकाले हरेक बस्तीमा स्ट्रेचर उपलब्ध गराउनु पर्ने उनको भनाई रहेको छ ।

तिला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गणेश शाहीले स्वास्थ्य चौकीमा गतवर्ष ६ लाख रुपियाँको औषधि खरिद गरी वितरण गरिएको बताए ।

बजेटको अभावले गाउँपालिकामा रहेका पाँचओटा स्वास्थ्यचौकीलाई पर्याप्त मात्रामा औषधि पुर्‍याउन नसकिएको शाहीले बताए ।

विविध कारणले यस आर्थिक वर्षका लागि औषधि खरिद नगर्दा समस्या भएको बताउँदै शाहीले औषधिको समस्या गाउँपालिकाले केही समयभित्रै समाधान गर्ने बताए ।

स्थानीयका लागि स्ट्रेचर र एम्बुलेन्स खरिदका लागि गाउँपालिकाबाट बजेट विनियोजन भएकाले केही दिन भित्रै स्ट्रेचर खरिद गरी उपलब्ध गराउने शाहीको भनाई छ ।


मानदत्त रावल