जुम्लाका १९ प्रतिशत घरधुरी खानेपानीबाट वञ्चित

  ०७६ भदौ २५ गते

जुम्लाका १९ प्रतिशत अर्थात् ३ हजार ६ सय ४ घरपरिवार अझै पनि खानेपानीको पहुँचबाट वञ्चित रहेको एक तथ्याङ्कले देखाएको छ ।

खानेपानी तथा सरसफाई कार्यालय, जुम्लाका अनुसार जिल्लामा रहेका १९ हजार १ सय ६७ घरधुरीमध्ये १५ हजार ५ सय ६३ घरधुरी अर्थात् ८१ प्रतिशत नागरिक मात्रै खानेपानीको पहुँचमा रहेका छन् ।

Photo20190911Jumla

खानेपानीबाट वञ्चित भएका घरधुरीले अहिले पनि खोलानाला, नदी र कुवा (नाउलो)को दुषित पानी उपभोग गर्ने गरेका छन् ।

०७३ सालमा खानेपानी र शौचालय सबै घरधुरीको पहुँचमा पुगेको भन्दै तत्कालिन खानेपानी मन्त्री प्रेमबहादुर सिंहले जुम्ला जिल्लालाई खुला दिसा मुक्त क्षेत्रको रूपमा घोषणा समेत गरेका थिए ।

तर, जिल्लाका सबै घरधुरीमा खानेपानी र शौचालय नभएको प्रतिवेदन खानेपानी तथा सरसफाई कार्यालयले सार्वजनिक गरेको छ ।

जुम्लाका १९ हजार १ सय ६७ घरधुरीमध्ये १५ हजार १ सय ५४ घरधुरी अर्थात् ७९ प्रतिशत घरपरिवार मात्र शौचालयको पहुँचमा रहेका छन् भने २१ प्रतिशत् अर्थात ४ हजार १३ घरधुरीमा शौचालय नभएको प्रतिवेदनमा उल्लेख छ ।

पुर्णरूपमा शौचालय नै निर्माण नभएका र खानेपानीको पहुँचमा नभएको जुम्लालाई झण्डै चार वर्षपहिले नै हचुवाका भरमा खुला दिसामुक्त घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ, जुम्लाका अध्यक्ष बरम महतले बताए ।

जिल्लाको तातोपानी गाउँपालिका-१ वाँइराँका गाउँ अहिले पनि खानेपानीबाट वञ्चित छ । खानेपानीको व्यवस्था नभएपछि यहाँका स्थानीय बासिन्दा अहिले पनि तिला नदीको दुषित पानी खाने गरेको स्थानीय धनसरा शाहीले बताइन् ।

गाउँमा खानेपानी नै नभएपछि सरसफाईमा समेत ध्यान दिन नसकेको र सोही कारणले समयसमयमा हैजा झाडापखाला जस्ता रोग फैलने गरेको शाहीले गुनासो गरिन् ।

तातोपानी गाउँपालिका-१ का वडाध्यक्ष प्रेम कठायतले पहिले देखि खानेपानी अभाव भएको वाँइराँका गाउँमा पानी पुर्‍याउने पहल भइरहेकोमा गत वर्षदेखि गाउँपालिकाको लगानीमा तिलाकोट गाउँबाट खानेपानी लैजाने योजना सञ्चालन भइरहेको जानकारी दिए ।

तातोपानी गाउँपालिकासँगै तिला गाउँपालिका र जुम्लाको सदरमुकाम खलङ्गा भित्रै रहेको चन्दननाथ नगरपालिकामा पनि खानेपानीको समस्या रहेको छ ।

४३ घरधुरी रहेको चन्दननाथ नपा-२ कालेखोली टोलमा धारामा पानी नआएपछि तिला नदी धाउनु परेको स्थानीय महिला निर्मया भण्डारीले गुनासो गरिन् ।

'पानी नआए पनि महसुल भने तिर्न बाध्य छौँ ।'-उनले भनिन्-'पानी नआएको एक वर्षभयो । प्रतिमहिना न्युनतम ८० रुपियाँ महसुल तिर्दै आएका छौँ ।'

सोही ठाउँमा रहेको एसिया इन्टरनेशनल बोर्डिङ स्कुलका सञ्चालक मनोज बुढाथाकीले भने-'स्कुलमा ९ सय जना विद्यार्थी छन् । मेसिनले पानी निकालेर विद्यार्थीलाई दिन्छौँ । कतिपयले घरबाटै ल्याउने गरेका छन् ।'

चन्दननाथ नपा-२ का अध्यक्ष धनरासी भण्डारीले यस बस्तीमा खानेपानीको समस्याबारे आफूलाई जानकारी नभएको बताए ।

'भरखरै समस्याबारे थाहा भयो उनले भने-'यस वडामा खानेपानीको स्रोत नभएकाले तत्काल समस्या समधान गर्न सकिँदैन तर जति सक्दो छिटो खानेपानीको व्यवस्था गर्दै समस्या समाधान गर्नतर्फ लाग्ने छौँ ।'


मानदत्त रावल