जीर्ण भवनमा बसेर पढ्न डराउँछन् बालबालिका

  ०७५ फागुन १० गते

सिदिङ्वा गाउँपालिका–४ मिश्रटारस्थित लुङसुङ पौवा आधारभूत विद्यालयको भवन जीर्ण छ । यद्यपि भवन पुनर्निर्माणमा कसैले चासो दिएको छैन ।

बालबालिका कक्षा कोठाभित्र बस्नै डराउने गराउने पनि सोही जीर्ण भवनमा सञ्चालित कक्षाहरूमा बालबालिका पढ्न बाध्य छन् ।

१० वर्षअघि भाँच्चिएको भवनको तेस्रो तला थाम्न राखिएको निदाललाई टेका दिएर अड्याइएको छ । “निदाल भाँच्चिएर किच्छ, कि भन्ने डर लागिरहन्छ ।”–कक्षा–५ मा पढ्दै गरेकी १३ वर्षीया विनिता लिम्बुले भनिन्–“कक्षामा गएपछि कतिबेला छुट्टी हुन्छ र घर जानु जस्तो हुन्छ ।”

०७२ सालको भूकम्पले दुई ओटा कोठा चर्किएका छन् । त्यसमा बालबालिकाहरू बसेर पढ्ने अवस्था छैन । तर, अर्को त्यस्तै धराप कोठामा पढ्न बाध्य छन् ।

२०२५ सालमा स्थापित विद्यालयमा कूल ५० जना विद्यार्थी छन् । एउटा भवन छ । जसमा ६ ओटा कोठा छन् ।

भवन राम्रो नभएको कारण पठनपाठनमा समेत समस्या हुने गरेको प्रधानाध्यापक कमला निरौलाले बताइन् ।

“विद्यालयको भौतिक पूर्वाधार राम्रो छैन ।”–प्रअ निरौलाले भनिन्–“म ०७० तिर सरूवा भएर आउनुभन्दा धेरै अगाडि निदाल भाँच्चिएको हो । भूकम्पले समेत भित्ता चर्काएको छ ।”

विद्यार्थी र शिक्षकलाई कक्षा कोठामा बस्न नै असहज हुने भएकाले प्रत्यक्ष असर पठनपाठनमा पुगेको छ । विद्यार्थीहरू कक्षामा पढ्न डराउने हुँदा अधिकांश समय बाहिर मैदानमा निकालेर पढाउने गरिएको छ ।

भवन नयाँ निर्माण तथा पुनर्निर्माणका बारेमा सम्बन्धित निकायमा बारम्बार जानकारी गराएपनि सुनुवाइ नभएको प्रअ निरौलाको गुनासो छ ।

साविक जिल्ला शिक्षा कार्यालयमा धेरै पटक भवनको माग गरेपनि सुनुवाइ नभएको हो । गाउँपालिकाले समेत माग सम्बोधन गर्न सकेको छैन ।

वडा–४ का वडाध्यक्ष नन्दलाल गौतमले विद्यालयको विषयमा आफूलाई खासै जानकारी नभएको बताए । अब विद्यालयमै गएर अनुगमन गर्ने र समस्या भए आगामी वर्ष नयाँ भवनको लागि बजेट विनियोजन गर्ने वडाअध्यक्ष गौतमले बताए ।


देवराज गुरूङ