जिल्ला सामुदायिक अस्पतालमा निशुल्क औषधिको अभाव

  ०७५ असोज ३ गते

जिल्ला सामुदायिक अस्पतालमा निशुल्क औषधिको अभाव भएको छ । नेपाल सरकारले प्रदान गर्ने ७२ किसिमका निशुल्क औषधि दुई महिनादेखि अभाव भएको अस्पतालका प्रशासक युवराज देवकोटाले बताए ।

यो भन्दा अघि जिल्ला अस्पतालले ४० लाख बराबरको निशुल्क औषधि आफैँले खरिद गरी ल्याएपछि एक वर्षको लागि पुगनपुग हुने औषधि अहिले सङ्घीयताको कारण स्थानीय तहमार्फत आउने व्यवस्था भएपछि औषधि सहज रूपमा नपाइएको देवकोटाको भनाई छ ।

निशुल्क औषधिको अभावका कारण सेवाग्राहीले बाहिरको फार्मेसीबाट शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता आएको अस्पतालका वित्त प्रमुख शान्तिराम राईले बताए ।

बेसीशहर नगरपालिका–१० की ७३ वर्षीया शोभकी खत्रीले निशुल्क पाउँदै आएको नसासम्बन्धी औषधि असोज २ गते नपाएपछि निराश भएर घर फर्किनु परेको बताइन् ।

दैनिक रूपमा २५ देखि ३० किसिमका औषधिहरू निशुल्क बढी प्रयोगमा आउने गरेको अस्पतालका डाक्टर हिम्मत भण्डारीले बताए ।

ज्वरो, सुगर, प्रेसर, ग्यास्टिक, नसासम्बन्धी र क्षयरोगका बिरामीलाई दैनिकरूपमा निशुल्क औषधि प्रदान गर्दै आएको भण्डारीले बताए ।

बेशीशहर नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारीका अनुसार औषधिको लागि टेण्डरको प्रकृयामा गएको हुनाले छिट्टै औषधि सहजरूपमा पाइनेछ ।


दलबहादुर मजाकोटी