जिल्ला बाहिर डाइलेसिस गराउँदा महङ्गो पर्ने मृगौला पीडितहरूको गुनासो

  ०७५ माघ २८ गते

पीडितहरूका लागि डाइलेसिस मेसिन नहुँदा जिल्लामा रहेका मृगौला पीडित बिरामीहरूलाई समस्या हुने गरेको छ । जिल्ला सामुदायिक अस्पतालमा डाइलेसिस मेसिन नभएपछि जिल्लाका मृगौला पीडित बिरामीले अन्य जिल्लामा गएर उपचार गराउने गरेका छन् ।

जिल्लामा रहेका ८५ जना मृगौला पीडितहरू डाइलेसिसको लागि नियमित रूपमा पोखरा, चितवन र काठमाडौँ जाने गरेको जिल्ला स्वास्थ्य कार्यलय, लमजुङका प्रमुख केशव चापागाईले जानकारी दिए ।

जिल्ला अस्पताल विकास समितिको दुइ महिना अघि बसेको बैठकमा मेसिन ल्याउने विषयमा छलफल भएपनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको चापागाईको भनाइ छ ।

हप्तामा दुई पटक डाइलेसिस गराउँदै आएका दुधपोखरी गाउँपालिका–२ का २१ वर्षीय नारायण दवाडीका अनुसार निशुल्क भएपनि बाहिर जिल्ला जाँदा सरकारले मासिक दिने ३ हजार ५ सय खर्चको दोब्बर खर्च हुने गुनासो गर्छन् । सेवा निशुल्क भएपनि खाना, यातायात र बासस्थानका लागि खर्च बढी हुने गरेको दवाडीले बताए ।

जिल्लामा सेवा नभएपछि अन्य खर्च बढी तिरेर जिल्ला बाहिरबाट सेवा लिनुपर्दा अर्थ नरहेको  सुन्दरबजार नपा–७ का २८ मृगौला पीडित वर्षीय तुलबहादुर गुरुङले बताए ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष लोकराज पाण्डेले अस्पतालमा डाइलोसिस मेसिन राख्ने ठाउँको अभाव भएकोले ठाउँको व्यवस्थापन हुने बित्तिकै मेसिन ल्याउने प्रतिबद्धता ब्यक्त गरे । मेसिन ल्याउने बारेमा बैठकमा निर्णय भएको र मेसिन राख्ने ठाउँ बनाउने क्रममा ढिलाई हुँदा मेसिन ल्याउन नसकिएको पाण्डेको भनाई छ ।


दलबहादुर मजाकोटी