जिल्ला प्रहरी कार्यालयसँग जोडिएको घरमा अज्ञात पक्षबाट महिलाको हत्या

  ०७५ कात्तिक २ गते

राजविराज नपा–६ की ५० वर्षीया आशादेवी देवको अज्ञात पक्षले कात्तिक २ गते बिहान हत्या गरेको पञ्हरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी एकल महिला देवको हत्या भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा इँटाले प्रहार गरी हत्या भएको रक्ताम्य शव कात्तिक २ गते बिहान फेला परेको उनका भतिजा निरजकुमार चौधरीले बताए ।

छिमेकीले बिहान घरको ढोका खुल्ला देखेपछि र देवलाई बोलाउँदा नबोलेपछि उनले नजिकै रहेको जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले हत्या गरेको अवस्थामा शव फेला पारेको थियो ।

मृतकको टाउको र दायाँ आँखामा चोट लागेको इन्स्पेक्टर सुजता तुम्बाहाम्फेले बताइन् । प्रहरीका अनुसार टाउकोमा ६ इञ्च लम्बाई र चार इञ्च चौडाई गहिरो खत रहेको छ ।

रगत लागेको इँटा प्रहरीले बरामद गरेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।


मनोहरकुमार पोखरेल