जिल्ला कागारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या

  ०७५ वैशाख १० गते

२५ जना परूष कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा ४६ जना कैदीबन्दी पुरूष राखिएपछि समस्या भएको कैदीबन्दीले बताएका छन् । क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी स्वास्थ्य उपचारमा समस्या हुने गरेको चौकीदार अमरसिंह महराले बताए ।

२५ जना पुरूष र १५ जना महिला गरी ४० जना कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागार दार्चुलामा एक जना नाबालकसहित हाल ४९ जना कैदीबन्दी छन् । कारागारमा दुई जना महिला कैदीबन्दी छन् ।

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्नसमेत कारागार प्रशासनलाई समस्या भइरहेको कारागार दार्चुलाका सूचना अधिकारी एवम् सहायक लेखापाल बिजयकुमार ठाकुरले जानकारी दिए ।

क्षमताभन्दा बढी कैदीबन्दी एउटै ठाउँमा सुत्नुपर्दा निकै समस्या हुने गरेको कैदीबन्दीले पटकपटक गुनासो गर्ने गरेको ठाकुरले बताए । गर्मीयाम सुरू भएसँगै कारागारमा उडुस परेर छालासम्बन्धी समस्याले समेत सताएको कैदिबन्दीहरूले बताएका छन् ।

कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई विद्यमान समस्याबारे पटकपटक जानकारी गराउँदै आएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि राशन, स्वास्थ्य उपचार, विद्युत र पानीकोसमेत समस्या भइरहेको चौकिदार महरा बताउँछन् । गर्मीयाममा पानी खान र नुहाउन समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ ।


नरेन्द्रसिह कार्की