जिल्ला अस्पातलको दन्त सेवा चिकित्सक अभावमा बन्द, बिरामीहरू सेवाबाट वञ्चित

  ०७६ मङ्सिर २८ गते

जिल्ला अस्पातमा सञ्चालन भएको दन्त सेवा चिकित्सक अभावले बन्द हुँदा बिरामीहरू सेवाबाट वञ्चित भएका छन् ।

एक जना दन्त रोगसम्बन्धी डाक्टरको दरवन्दी रहेको जिल्ला अस्पताल बिजुवारमा दन्त रोगका बिरामीहरूलाई सेवा दिँदै आएकोमा हाल नेपाल सरकारको कर्मचारी समायोजनले गर्दा डाक्टर अस्मिता कजु प्रदेश २ मा सरूवा गएपछि जिल्ला अस्पतालको दन्त सेवा पूर्ण रुपले बन्द रहेको अस्पताल प्रशासनले जनाएको छ ।

दाँतको समस्या भएर उपचार हुन्छ भनी आएको तर दन्त सेवा बन्द भएकाले निजी मेडिकलमा महङ्गो शूल्क तिर्न बाध्य भएको प्यूठान नपा–१० की ६५ वर्षीया मिना बिकले बताउनु भयो । सेवा सञ्चालन भए उँहाले आर्थिक अभाव भएकाहरूले पनि सेवा पाउने र महङ्गो शूल्क तिर्न नपर्ने बताउनु भयो ।

समायोजनपछि कात्तिक महिनादेखि बन्द भएको दन्त सेवा सुचारू हुन नसकेको र अहिले डाक्टर आउने पनि कुनै जानकारी नभएको अस्पतालका निमित्त प्रमुख खिमप्रसाद पार्धेले बताउनु भयो ।

उहाँले सेवा प्रदान गर्दै आएको ठाँउमा बिरामीहरूले सेवा नपाउँदा गुनासो हुनु स्वाभाविक रहेको बताउनु भयो ।


रविन्द्र पाण्डे