जिल्ला अस्पताल चिकित्सकविहीन, सेवाग्राही मर्कामा

  ०७७ साउन ३० गते

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सक लगायतका स्वास्थ्यकर्मीको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

स्वास्थ्य सेवा व्यवस्थापक, जनरल फिजिसियन, गाइनोक्लोजिस्ट र कन्सल्टेन्ट सर्जन गरि चार जना विशेषज्ञको दरबन्दी भएपनि ०७७ जेठ देखि सबै पद रिक्त रहेको जिल्ला अस्पताल कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक भिष्म पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार हाल मेडिकल अधिकृत तीन जना, डेन्टल सर्जन, जनरल नर्सिङको पद रिक्त रहेकाले थप समस्या उत्पन्न भएको छ ।

जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुवेर्द अस्पताल एकै ठाउँमा भएकोले ४७ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि २९ जनाको पद रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

छोरीको हात खुट्टा पोलिदा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जुम्ला जान लागेको खाँडाचक्र नपा–९ का धनबहादुर विष्टले गुनासो गर्नुभयो ।

ल्याव असिस्टेन्टमा दुइजनाको दरबन्दी रहेपनि हाल दुवै पद रिक्त भएपछि रगत, खकार लगायतका परीक्षणमा समेत समस्या भइरहेको स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

डाक्टर लगायत आवश्यक स्वास्थ्यकर्मी नभएपछि सामान्य बिरामी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सिफारिस गर्नु परेको सूचना अधिकृत महतको भनाई छ ।

अस्पतालमा अत्यावश्यक स्वास्थ्यकर्मीको पद रिक्तताको सन्दर्भमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलले मुख्यमन्त्रीकै जिल्लामा एउटा पनि विशेषज्ञ चिकित्सक नहुनु दुःखद् भएको बताउनुभयो ।

इन्सेक प्रतिनिधिसँगको टेलिफोनमा सचिव पौडेलले भन्नुभयो ‘म मन्त्रालयको सचिवको जिम्मेवारीमा भर्खरै आएको हो । यस विषयमा जानकारी थिएन । भदौ सम्म केहि पद पुर्ति गर्ने व्यवस्था मिलाउँछौं ।’

Photo 2020830 Kaliko

Photo 2020830 Kalikot


कालीबहादुर मल्ल