जिल्ला अस्पतालमा स्वास्थ्य सेवा ठप्प हुँदा बिरामी मर्कामा

  ०७५ चैत ३० गते

जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीहरूले इमरजेन्सी सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् ।

गत चैत २२ गते देखि देशभरका सरकारी चिकित्सकहरूको आन्दोलनका कारण धादिङ जिल्ला अस्पतालमा पनि तीन जना डाक्टरसमेत अन्य स्वास्थ्यकर्मीहरूले इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गर्दा दैनिक १ सय भन्दा बढी बिरामी आउने अस्पतालकमा सेवा प्रभावित भएको छ ।

दैनिक ज्वरो, पेट तथा स्वासप्रस्वास आदि जस्ता समस्या भएका बिरामी आउने जिल्ला अस्पतालमा उपचारका लागि लामो दुरिबाट धाएर आउने बिरामीहरू उपचार सेवा नै ठप्प हुँदा स्वास्थ्य जाँच नगरी घर फर्किन बाध्य भएका छन् ।

अस्पतालमा आएका ४५ वर्षीय मानबहादुर घलेले आफूलाई टाउको दुख्ने समस्या भएकोले उपचारका लागि आएको तर अस्पताल बन्दका कारण उपचार सेवा नै नपाएको गुनासो गरे ।

पेटको समस्या लिएर निलकण्ठ नगरपालिका–१३ बाट आएकी उषा घलेले उपचार सेवा बन्द हुँदा थप पीडा खेप्नुपरेको गुनासो गरिन् ।

सरकारी चिकित्सकको हड्तालका कारण उपचारका लागि विभिन्न समस्या लिएर आउने बिरामीहरूले सेवा पाउनु त काता हो काता ? उल्टै दोहोरो समस्याको मार खेप्नु परेको अस्पतालमा आएका नीलकण्ठ नगरपालिका–१३ का काशी लम्सालले गुनासो गरे ।


सीताराम अधिकारी